४ बैशाख, झापा । झापाको हल्दिवारी गाउँपालिकाका एक युवामा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ । आरडिटी विधिबाट गरिएको परीक्षणमा ती युवामा कोरोना भइरसको एन्टीबडी पोजिटिभ देखिएपछि स्वाव परीक्षणकालागि कोशी अस्पताल विराटनगर पठाइएको थियो । विराटनगरमा भएको उनको पीसीआर परीक्षणमा नतिजा नेगेटिभ आएको हो ।
बैदेशिक रोजगारीमा गएका ती युवा एक महिनाअघि दुबईबाट झापा घर फर्किएका थिए । उनी होम क्वारेन्टाइनमा थिए ।
विज्ञहरुका अनुसार आरडिटी टेस्टमा नतिजा पोजेटिभ देखिए पनि नेगेटिभ नतिजा आउने सम्भावना उत्तिकै हुन्छ । कोरोना सङ्क्रमण भएपछि निको भइसकेको अवस्था भए र्यापिड टेस्टमा पोजेटिभ देखिने तर पीसीआर टेस्टमा नेगेटिभ देखिने गरेको विज्ञहरु बताउँछन् ।