९ चैत्र, झापा । छिमेकी राष्ट्र चिनबाट विश्वभरी फैलिएको कोरोना भाइरस (कोभिड १९) को असर झापाको वजारहरुमा पनि पर्न थालेको छ । अहिलेसम्म कोरोना भइरस संक्रमित ब्यक्ति नभेटिए पनि अग्रिम सर्तकता अपनाउदै झापाका बजारहरु धमाधम बन्द हुन थालेका छन् ।
जिल्लाको मुख्य बजार मानिने विर्तामोड बजारलाई आगामी चैत २१ गतेसम्मका लागि बजार बन्द गर्न बिर्तामोड उद्योग वाणिज्य संघले व्यवसायीहरुलाई आग्रह गरीसकेको छ ।
नेपालमा कोरोना भाइसको संक्रमण नफैलियोस भन्दै सरकारले अतिआवश्यक बाहेकका सबै बन्द गर्न आह्वान गरेसंगै धमाधम ब्यवसायहरु बन्द गर्न थालिएको छ । सरकारले गरेको निर्देशन र स्थानीय सरकारको अनुरोधलाई स्वीकार गर्दै वाणिज्य संघहरुले व्यवसायीलाई बजार बन्द गरिदिन आग्रह गरेका हुन् ।
यता कनकाई उद्योग वाणिज्य संघले पनि आईतवार विहान नगरपालिकको बैठकमा साझा धारणा बनाउदै बजार बन्द गर्ने घोषणा गरेको संघका अध्यक्ष त्रिलोचन चिमोरियाले जानकारी दिनुभएको छ । अत्यावश्य बाहेकका सबै व्यवसाय बन्द गरिदिन आग्रह गरेको चिमोरियाले बताउनुभयो ।
यसकासाथै झापाका विभिन्न स्थानमा लाग्ने हाटबजारहरु बन्द हुन थालेका छन् । राजमार्गमा सवारीसाधनको चाप समेत कम हुँदै गएको जिल्ला ट्राफिक प्रहरी कार्यलय झापाले जनाएको छ ।