२५ फाल्गुन, झापा । झापाको मेचिनगर नगरपालिकामा रहेको १५ शैयाको आम्दा मेची अस्पताल स्थानीय तह र समुदायको बेवास्ताका कारण बन्द हुने अवस्थामा पुगेको छ । जापान सरकारको ९८ लाख र मेचीनगर नगरपालिकाको ५० लाख रुपैँया अनुदानबाट स्थानीय वीरेन्द्र खनाल, नरेन्द्र खनाल र पदमा खनालले निःशुल्क रुपमा प्रदान गर्नुभएको जग्गामा बनेको सो अस्पताल अहिले जिर्ण अवस्थामा पुगेको हो ।
स्थानीय सरकारको उपेक्षाले अस्पताल रुग्ण अवस्थामा पुगेको साझेदार संस्था मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषि तिम्सिना बताउनुहुन्छ । स्थानीय सरकारको भूमिकामा रहेको मेचीनगर नगरपालिकाले अस्पताललाई वार्षिक अनुदान दिन कञ्जुस्याइँ गरेको उहाँको आरोप छ । मठमन्दिर, सभाहलका नाममा करोडौँ बजेट दिने नगरपालिकाले नगरको गौरवको रुपमा रहेको यस अस्पताल सञ्चालनका लागि भने अपुग रकम दिनेगरेको अध्यक्ष तिम्सिना बताउनुहुन्छ ।
अस्पतालमा स्वास्थ्य जाँचका लागि आवश्यक पर्ने आधुनिक उपकरण र प्रयोगशालाका सामग्री नभएका कारण विरामी समेत आउन छाडेको अस्पतालका प्रशासन सहायक प्रमुख उज्जवलतारा थापा बताउनुहुन्छ ।
सो अस्पताल आम्दा नेपाल, मेचीनगर नगरपालिका र मेची उद्योग वाणिज्य सङ्घको त्रिपक्षीय सम्झौताअनुसार विसं २०६५ मङ्सिर २० गते सञ्चालनमा आएको थियो । सम्झौतामा तीनवटै निकायकोे सहमतिमा अस्पताल सञ्चालन गर्ने भनिएको थियो । तर केही वर्ष नबित्दै सम्वन्धीत निकायको बेवास्ताको कारण अस्पताल जिर्ण अवस्थामा पुगेको छ ।
स्थापनाकालमा झापाको काँकडभिट्टा, धुलावारी, ज्यामिरगढी, दुहागढी, बाहुनडाँगी, धाइजन, बुधबारे, शान्तिनगर तथा इलामको रोङ गाउँपालिकाका दुई लाख जनसङ्ख्यालाई लक्षित गरी सो अस्पतालको निर्माण गरिएको थियो ।