२० श्रावण, झापा । विज्ञहरुले कोरोनाको तेस्रो लहर छिटै आउने चेतावनी दिइरहेका बेला झापाका कोभिड अस्पतालहरु सङ्क्रमितले भरिभराउ भएका छन् । मेची प्रादेशिक अस्पताल भद्रपुरमा ७५ शैय्याको कोभिड उपचार केन्द्र रहेकोमा ६० जना संक्रमितको उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. टङ्क बाराकोटीले बताउनुभयो ।
अस्पतालको ६० वटा शैय्यामा मात्र अक्सिजनको सुविधा उपलब्ध छ । ती सबै शैय्या भरिएको छ । अक्सिजन सपोर्ट चाहिने नयाँ विरामीलाई अन्य अस्पतालमा पठाउन थालिएको छ । पाँच वटा आइसीयु कक्षमध्ये तीन वटा कोभिडका विरामीको उपचारका लागि छुट्याइएकोमा सबै शैय्या भरिएको उहाँले जानकारी दिनुभयो ।
झापामा सबैभन्दा बढी एक सय शैय्या कोभिड संक्रमितको उपचारका लागि छुट्याएको विर्तामोडको बीएन्डसी हस्पिटलमा ७४ जना विरामीको उपचार भइरहेको छ । अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीका अनुसार कोभिडका लागि अस्पतालले ३२ शैय्याको आइसीयु व्यवस्था गरेकोमा सबै शैय्या विरामीले भरिएका छन् ।
‘‘एक साता यता कोभिडका विरामीको चाप ह्वात्तै बढेको छ,” गिरीले भननुभयो–“विरामीको चाप बढ्दै गयो भने अरु शैय्या थप्न तयार छौं । विरामीले उपचार नपाई फर्किने अवस्था सिर्जना हुन दिदैनौं ।” अस्पतालमा दैनिक २०० सिलिन्डर अक्सिजन खपत भइरहेको जनाउँदै उहाँले ५० सिलिन्डर अक्सिजन अस्पताल आफैले दैनिक उत्पादन गरिरहेको बताउनुभयो ।
पछिल्लो समय बालवालिकामा कोभिडको संक्रमण जोखिम बढेको विज्ञहरुले बताएका कारण अस्पतालले २५ शैय्याको एनआइसीयु र १५ शैय्याको पीआइसीयु बच्चाहरुको कोभिड उपचारका लागि व्यवस्था गरिएको गिरीले जानकारी दिनुभयो ।
विर्तामोडस्थित पूर्णटुङ्ग विर्तासिटी हस्पिटलमा कोभिडका लागि छुट्याइएको सबै आइसोलेसन वार्ड, आइसीयु र भेन्टिलेटर भरिएको छ । अस्पतालका प्रशासन प्रमुख विनोद बस्नेतले कोभिड उपचारका लागि ५३ शैय्याको आइसोलेसन, नौ शैय्याको भेन्टिेलेटर र १२ शैय्याको आइसीयु व्यवस्था गरिएको बताउनुभयो ।
एक साता यता कोभिडका सङ्क्रमित उपचारका लागि आउने क्रम बढेर अस्पताल नै भरिएको उहाँले बताउनुभयो । अस्पतालले सङ्क्रमितको उपचारलाई प्राथमिकतामा राखेर ओपीडी सेवा हाल बन्द गरेको जनाएको छ । यस्तै चाप रहे प्रसुति सेवा पनि बन्द गर्ने अवस्था आउनसक्ने उहाँले बताउनुभयो ।
एक साता अघिसम्म २४ घण्टामा १०० वटा अक्सिजन सिलिन्डरले पुग्ने गरेकोमा हाल दैनिक २०० सिलिन्डर खपत भइरहेको बस्नेतले जानकारी दिनुभयो ।
यस्तै दमकको बेलडाँगी कोभिड अस्पताल पनि सङ्क्रमितले भरिभराउ छ । दमक नगरपालिकाले सञ्चालन गरेको सो अस्पतालमा ३० शैय्या छन् । सबै शैय्या भरिभराउ रहेको फोकल पर्सन देवी दङ्गालले बताउनुभयो । चिकित्सकहरुका अनुसार अचेल सिकिस्त भएपछि मात्र सङ्क्रमितहरु अस्पताल आउन थालेको र यसले उपचारमा थप समस्या भएको छ ।