५ असार, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले आफूलाई पार्टीको प्रथम अध्यक्ष दाबी गर्दै कार्यकारिणी समिती सदस्यको व्यापक हेरफेर गरेको पत्र निर्वाचन आयोगलाई बुझाउनुभएको छ ।
जसपा अध्यक्ष ठाकुरले २० जना कार्यकारिणी समिति सदस्यलाई हटाएर आफू निकट नयाँ मनोनित समेत गर्नुभएको छ । मनोनित हुनेहरुमा पूर्व समाजवादी पार्टीका १४ जना छन् भने पूर्व राजपाका ६ जना छन् । ठाकुरले जेष्ठ ३ गते कार्यकारिणी समिती सदस्यको हेरफेर गर्नुभएको थियो । हेरफेरको पत्र ठाकुरले असार १ गते निर्वाचन आयोगलाई पठाउनुभएको हो ।
२०७७ पैष १० गते बसेको जसपा कार्यकारिणी समितीको बैठकले ठाकुरलाई प्रथम अध्यक्षको हैसियतमा कार्यकारिणी समितीको हेरफेर तथा पुनर्गठन गर्ने अधिकार दिएको ठाकुर पक्षको दाबी छ । ठाकुर पक्षले निर्वाचन आयोगमा पैष ५ गतेको कार्यकारिणी समितीले गरेको निर्णयको प्रतिलिपी समेत पेश गरेको छ ।
ठाकुर आफूले हेरफेर गरेका कार्यकारिणी समिती सदस्यको बैठक जेष्ठ ६ गते बोलाउनुभएको थियो । बैठकले संसदीय दलको नेता चयन गर्ने संसदीय दलको बैठकको निर्णय, संसदीय दलको विधानलगायत अनुमोदन गराएको बताइएको छ । त्यहीँ दिन बसेको ठाकुर पक्षको कार्यकारिणी समिती बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने निर्णय समेत गरेको थियो ।
वैशाख २९ गते ठाकुर पक्षीय सांसदको बैठकले संसदीय दलको विधान पारित गरेको थियो । २० गतेको बैठकले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको थियो । विघटीत प्रतिनिधि सभामा जसपाका ३२ सांसद मध्ये २० जना ठाकुर–महतोको पक्षमा थिए ।