दिल्ली जानुअघि नेता खनालले भावुक हुँदै भने ‘एमाले एकढिक्का बनाउनुहोस्’

दिल्ली जानुअघि नेता खनालले भावुक हुँदै भने ‘एमाले एकढिक्का बनाउनुहोस्’


२ असार, काठमाण्डौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी मिलाउन आग्रह गर्नुभएको छ । उपचारका लागि दिल्ली जानुअघि नेता खनालले एमालेलाई एकढिक्का बनाउने भूमिकामा लाग्न ओलीलाई आग्रह गर्नुभएको हो ।

आज उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलको फोनबाट खनालसँग संवाद गर्नुभएका प्रधानमन्त्री ओलीले स्वास्थ्यलाभको कामना गर्नुभयो । त्यसक्रममा खनालले ओलीलाई पार्टी मिलाउन आग्रह गरेका खनालका निकट सहयोगी होम बुढाथोकीले बताउनुभयो ।

प्रधानमन्त्री ओलीसँग कुराकानी हुँदा नर्भिक अस्पतालमा खनालसँगै रहेका बुढाथोकीले भन्नुभयो, ‘झलनाथ कमरेडले प्रधानमन्त्रीलाई पार्टी मिलाउनुहोस् भन्नुभयो ।’ नेता खनालले अध्यक्ष ओली पार्टीको प्रमुख ठाउँमा भएकाले मिलाउने भूमिका बढी हुने बताएका थिए । ओलीसँग कुराकानीका क्रममा खनाल भावुक बनेको बुढाथोकी बताउनुभयो ।

आज नै एमाले महासचिव ईश्वर पोखरेल खनाललाई भेट्न नर्भिक अस्पताल पुग्नुभएको थियो । पोखरेलसँग पनि नेता खनालले एकताको पहल गर्न आग्रह गर्नुभएको थियो । ‘भोलि तपाईंहरु नै हो नेता । किन मिलाउन लाग्नु हुन्न’, पोखरेललाई खनालले प्रश्न गर्नुभएको थियो ।

के भएको हो ?

पूर्वप्रधानमन्त्री खनाल सोमबार नर्भिक अस्पताल भर्ना हुनुभएको थियो । अस्पतालका अनुसार खनाललाई साढे १२ बजे नर्भिकबाट दिल्लीतर्फ लगिएको हो । पोस्ट कोभिडका बिरामी खनाललाई फोक्सोमा पानी जमेको र रगतमा संक्रमण अस्पतालको भनाइ छ ।

अस्पताल भर्ना भएदेखि अक्सिजन सपोर्टमा रहेका खनाललाई क्रोनिक निमोनियाको शंका गरी उपचार गरिएकामा परिवारकै सल्लाहमा दिल्ली पठाइएको अस्पतालका जनसम्पर्क अधिकारी सोमनाथ बास्तोलाले जानकारी दिनुभयो ।

बास्तोलाको अनुसार खनाललाई मिर्गाैलाको पुरानो समस्या छ । ‘हिजो उहाँलाई २ पिन्ट रगत चढाउन लागिएको थियो तर शरीरले एक पिन्ट भन्दा बढी लिएन’ बास्तोलाले भन्नुभयोने, ‘कोभिडपछि शरीरका विभिन्न अंगहरुमा क्षति गर्छ उहाँलाई भएको त्यही हो, मिर्गाैलाको पुरानो बिरामी भएकाले मिर्गाैलामा पनि असर गरेको भन्न सकिन्छ, सबै रिपोर्टहरु आउन बाँकी छ ।’

अस्पतालका अनुसार खनालको ज्वरो घटेको छैन भने लगातार खोकी लागिरहेको छ । शरीर शिथिल भएर काम छुट्ने भएकाले क्रोनिक निमोनियाको शंका गरिएको छ ।

यसअघि खनालले भारतको एपोलो अस्पतालमा उपचार गराउनुभएको थियो । गएको माघ अन्तिम साता एपोलोमा उपचार गराएर खनाल स्वदेश फर्किनुभएको थियो ।

गत वैशाखमा खनाललाई कोरोना संक्रमण देखिएको थियो । त्यतिबेला उहाँ १० दिन नर्भिक अस्पतालमा नै उपचारपछि संक्रमणमुक्त भई वैशाख २७ मा घर फर्किनुभएको थियो ।

उहाँको दुवै मिर्गाैलामा समस्या देखिए पछि गत ३० माघमा एपोलो अस्पताल भर्ना गरिएको थियो । उहाँलाई अस्पतालले मिर्गाैला प्रत्यारोपण गर्न सुझाव दिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर