३१ जेष्ठ, काठमाण्डौँ । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेपाली कांग्रेस सभापति शेरवहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाल निवास कोटेश्वर पुग्नुभएको छ । विपक्षी दलका शीर्ष नेताहरुबीच प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बनेको गठबन्धनलाई थप प्रभावकारी बनाउँदै अघि बढ्ने विषयमा छलफल भएको बताईएको छ ।
आज साँझ एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधव कुमार नेपालबीचको भेटवार्तामा गठबन्धनलाई कमजोर बनाउने प्रयास हुनसक्ने भन्दै त्यसबारेमा सतर्क हुने विषयमा छलफल भएको भेटमा सहभागी काँग्रेस महामन्त्री समेत रहेका पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।
महामन्त्री खड्काका अनुसार गठबन्धनलाई अझ दृढ बनाउँदै लैजाने तथा आपसमा शंका उपशंका उत्पन्न गराउने प्रयास हुनसक्ने भएकाले त्यसमा सतर्क हुनुपर्ने कुरामा नेताहरु केन्द्रीत भएर नेताहरुबीच समिक्षा भएको थियो । त्यस्तै उनीहरुबीच संवैधानिक अंगहरूमा सत्ताको प्रभावका बारेमा समेत सचेत रहँदै खबरदारी गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो ।
पछिल्लो समय गठबन्धनका नेताहरुबीच निरन्तर भेटवार्ता हुँदै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लोपटक जेठ सात गते दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि नेता नेपालसहितको गठबन्धनले प्रतिनिधिसभा पुनःस्थापना र काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वाेच्चमा रिट निवेदन दिएको छ ।
उक्त रिटमा सर्वाेच्चको संवैधानिक इजलासमा आगामी असार ९ गतेबाट निरन्तर बहस हुँदैछ । तर, यो बीचमा प्रधानमन्त्री ओलीले गठबन्धनलाई भत्काउन अनेकन प्रयास गरिरहेका छन् । गत बिहीबारमात्रै सर्वाेच्च अदालतले कर्णाली प्रदेशका चार जना सांसदलाई एमालेको महाधिवेशन आयोजक कमिटीले गरेको कारवाहीलाई अस्वीकार गरेको थियो । साथै सोही आदेशले नेता नेपालसहितलाई गरेको कारवाही समेत निस्क्रिय भएको अवस्थामा नेता नेपाल गठबन्धन छाडेर ओलीतिर जान्छन् कि भन्ने त्रास काँग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई परेको छ ।