२५ वैशाख, काठमाण्डौँ । नयाँ सरकार गठनका लागि अग्रसरता नदिएको आरोप पार्टीभित्र र बाहिरबाट खेप्दै आएका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा आज संसदीय दलको बैठकमा निकै प्रष्ट देखिनुभएको छ ।
कांग्रेस नेताहरुका अनुसार देउवाले प्रष्ट भननुभएको छ–‘जसरी पनि यो सरकारलाई विस्थापित गर्ने हो ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन बोलाएको संसदको विशेष अधिवेशन शुरु हुनु दुई दिनअघि शनिबार बिहान पदाधिकारी बैठक बसेको थियो भने दिउँसो संसदीय दलको बैठक । दुवै बैठकमा सभापति देउवा यसअघिभन्दा प्रष्टताका साथ प्रस्तुत भएको कांग्रेस नेताहरुले बताएका छन् ।
नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा बसेको संसदीय दलको बैठकको शुरुमा बोलेका सभापति देउवाले विश्वासको मत माग्ने प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा उभिन निर्देशन दिनुभयो । साथै कुनैपनि हालतमा यो सरकार बदल्नुपर्ने उहाँले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले विश्वासको मत नपाए अल्पमतको सरकार बनाएर संसद भंग गर्नसक्ने विश्लेषण सुनाएका देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि समेत आशंका व्यक्त गर्नुभयो । राष्ट्रपतिले दल फुटाउने जुटाउने भूमिका खेल्नु उपयुक्त नहुने धारणा सभापति राखेको सांसद बहादुरसिंह लामाले बताउनुभयो ।
बैठकले प्रधानमन्त्री ओली विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने पार्टी केन्द्रीय कार्यसमितिको २१ चैतकै निर्णय अनुमोदन गर्दै बैठकले विश्वासको मत नदिन अरु दललाई पनि आग्रह गरेको छ ।