२५ वैशाख, काठमाण्डौँ । हामीकहाँ सर्जिकल मास्क वा एन–९५ मास्क दुई–तीन दिन लगातार लगाउने र धोएर फेरि प्रयोग गर्ने चलन पनि छ । के यस्तो गर्नु राम्रो हो ? विज्ञहरु के भन्छन् ?
यति मात्र होइन, कपडाको मास्क लगाउनु ठीक हो कि होइन ? आफूलाई संक्रमण नभए पनि मास्क लगाएर हिँड्न किन जरुरी छ भन्ने अन्यौल हामीकहाँ अहिले पनि उत्तिकै छ ।
यिनै प्रश्न र जिज्ञासाबारे सरुवारोग विशेषज्ञ डाक्टर अनूप सुवेदीले गत वर्ष एक कार्यक्रममा बताउनुभएको थियो । मास्कबारे डा.सुवेदीको जवाफ दोस्रो लहरको यो कोरोना संक्रमणकालमा सान्दर्भिक देखिएको छ ।
कोारोनाबाट बच्न एन–९५ मास्क कतीको प्रभावकारी ?
डा. सुवेदीका अनुसार भल्भ भएको एन–९५ मास्कले बाहिरबाट भित्र जाने हावा त रोक्छ, तर भित्रबाट बाहिर आउने हावा रोक्दैन ।
हामीले सास फेर्दा, खोक्दा वा हाच्छियूँ गर्दा थुकको छिटा बाहिर नजाओस् भनेर मास्क लगाउने हो । तर, भल्भ भएको एन–९५ मास्कले त्यस्तो छिटा बाहिर जानबाट रोक्दैन । यसले बाहिरको छिटा भित्र प्रवेश गर्न भने दिँदैन ।
उहाँका अनुसार कोरोना महामारी नियन्त्रण गर्न आफू मात्र होइन, अरूलाई पनि संक्रमणबाट जोगाउनुपर्ने हुँदा यस्तो मास्क लगाउनु, सामाजिक रूपमा अनुत्तरदायी व्यवहार हो ।
कतिपय मान्छेले एन–९५ भित्र छुट्टै सर्जिकल मास्क पनि लगाउछन् । तर, सर्जिकल मास्क लगाएपछि अर्काे लगाउनुपर्दैन । मास्क लगाउँदा कत्तिको टाइट फिटिङ छ भनेर पनि ध्यान दिनुपर्छ उहाँले भन्नुभयो । माथि, तल वा छेउछाउबाट हावा छिर्ने गरी खुकुलो छ भने त्यसले संक्रमणबाट बचाउन सक्दैन ।
यस्तो अवस्थामा कपडा राखेर, टेप लगाएर वा अन्य तरिकाबाट मास्कलाई टाइट फिटिङ गराउनुपर्ने उहाँले सुझाव दिनुभयो ।
मास्क धोएर फेरि–फेरि प्रयोग गर्न मिल्छ कि मिल्दैन ?
डा. सुवेदीका अनुसार एन–९५ र सर्जिकल मास्क धुन मिल्दैन । यस्तो मास्क धोएपछि त्यसको छिद्रहरूमा रहेको कपडा बिग्रन्छ । भाइरस सजिलै छिर्न सक्छ ।
धुन नमिल्ने भए के आज लगाएको मास्क भोलि पनि लगाउन मिल्छ त भन्ने प्रश्नमा त्यो पनि गर्न नमिल्ने उहाँले बताउनुभयो ।
उहाँको अनुसार यस्तो महामारीको समयमा मास्क लगाएर हिँड्दा त्यसको बाहिरी पत्रमा संक्रमित व्यक्तिको थुकको छिटा परेको छ भन्ने हामीले सोच्नुपर्ने हुन्छ । त्यहाँ कोरोना भाइरस हुन सक्छ भन्ने हामीले ख्याल राख्नुपर्छ ।
त्यसैले त्यो मास्क भोलिपल्ट फेरि प्रयोग गर्नु त परको कुरा, त्यसको बाहिरी पत्र हातले छुन पनि हुँदैन । कसैगरी छोइहाल्यो भने हात साबुनपानीले धुनुपर्छ वा स्यानिटाइजर लगाइहाल्नुपर्छ ।
धुन पनि नमिल्ने, भोलिपल्ट फेरि लगाउन पनि नमिल्ने भए के अब हरेक दिन नयाँ मास्क किनेर लगाउनु ? त्यो त कसरी साध्धे होला र ?
धुन नमिले पनि मास्क पुनः प्रयोग गर्ने तरिका रहेको डा. सुवेदी बताउनुहुन्छ । आज एउटा मास्क लगाउने, त्यसलाई खोलेर कोठामा अलक्क कतै झुन्ड्याएर राख्ने । भोलि फेरि अर्काे लगाउने। त्यसलाई पनि उसैगरी झुन्ड्याएर राख्ने । यसरी चार दिनसम्म चारवटा छुट्टाछुट्टै मास्क लगाउने ।
पाँचौं दिनमा पहिलो दिन लगाएको मास्क लगाउने । यसको कारण के भने, पहिलो दिन लगाएको मास्कको बाहिरी पत्रमा भाइरस परेको छ भने पनि त्यो ७२ देखि ९६ घन्टासम्म मरिसकेको हुन्छ । पहिलो दिन लगाएको मास्क चार दिनपछि फेरि लगाउँदा सुरक्षित हुन्छ । र, यसरी हामी मास्क नधोइकन पनि पुनः प्रयोग गर्न सकिने उहाँले बताउनुभयो ।