२३ चैत्र, काठमाण्डौँ । देशभर वायु प्रदुषणको मात्रा बढेसंगै काठमाण्डौँ विश्वकै प्रदुषित शहर बनेको छ । बिहीबार साँझ पूर्वी तथा मध्य नेपालमा भएको वर्षाले प्रदषण केही घटे पनि आइतबारदेखि फेरि बढेको हो ।
स्विट्जरल्याण्डको एक्युएआइआरका अनुसार आज बिहान काठमाडौंको एयर क्वालिटी इन्डेक्स ३३१ छ र काठमाडौं संसारकै धेरै वायु प्रदुषण भएको सहरको सूचीमा पहिलो नम्बरमा छ ।
वातावरण विभागको तथ्याङ्कअनुसार सोमबार बिहान सबैभन्दा धेरै वायु प्रदुषण धनगढीमा छ । धनगढी एयर क्वालिटी इन्डेक्स (एक्युआई) ४२९ पुगेको छ । दोस्रो नम्बरमा चितवनको भरतपुर छ । त्यहाँको एक्युआई ३९८ छ भने तेस्रो नम्बरमा ललितपुरको भैंसेपाटीमा एक्युआई ३२५ छ ।
एक्वुआई ५० सम्म हुनु राम्रो हो, ५० देखि १०० सम्मलाई मोडरेट मानिन्छ । एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ । २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ । एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो । ३ सयभन्दा माथि जानुचाहिँ घातक हो ।
विज्ञहरूले सुख्खा हिउँद, अत्याधिक डढेलो, कमजोर पश्चिमी वायु र धुँवा–धुलो प्रदुषण बढेको बताएका छन् ।