जुम्लाको ढिपु गाउँमा आगलागी, ३५ घर जलेर नष्ट, आगो नियन्त्रण बाहिर

जुम्लाको ढिपु गाउँमा आगलागी, ३५ घर जलेर नष्ट, आगो नियन्त्रण बाहिर


२२ चैत्र, काठमाण्डौँ । जुम्लाको तिला गाउँपालिका ९ ढिपु गाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन् । ७५ घर भएको मुल्ली गाउँमा ३५ घर जलेर नष्ट भइसकेको वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिनुभयो । उहाँका अनुसार आगो अझै नियन्त्रण बाहिर रहेको छ ।

प्रर्याप्त पानी नभएको कारण आगो नियन्त्रणमा आउन सकेको छैन । घरको छाना निकाल्ने र माटो हालेर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको उहाँले बताउनुभयो ।

३५ घरभित्रको अन्नबाली सबै सखाप भइसकेको छ । आगो कसरी लागेको हो भन्ने विषयमा जानकारी लिने प्रयास भइरहेको छ । आगलागीका कारण मान्छेहरु बेहोस छन्। आगलागीको एकीन विवरण आउन बाँकी छ ।

यता जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले आगलागी भएको खबर पाउने वित्तिकै तत्काल उद्वारको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली आगलागी भएका घटनास्थल तिर पठाइसकेको बताउनुभयो ।

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले तिला गाउँपालिका–९, ढिपुको मुल्लीमा आगलागी भई ३५ घर नष्ट भएको प्रारम्भिक खवरले दुखित तुल्याएको बताउनुभएको छ ।

यस अघि तिला गाउँपालिका ७ पोखरी गाउँको गोठीमा आगलागी हुँदा ३१ घर जलेर नष्ट भएको थियो ।

यस्तै आज नै काठमाडौं महानगरपालिका वडा नं. २० लाखेननीस्थित एक घरमा आगलागी भएको छ ।

जनसेना प्रहरी न्युरोडका अनुसार उज्वल रञ्जितको घर घरमा आइतबार बिहान आगो लागेको हो । दमकल र पानी ट्यांकरको सहयोगमा प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका छन् ।

विद्युतको तार सर्ट भएर आगलागी भएको बताइएको छ । आगलागीबाट भएको क्षतिको विवरण एकीन हुन सकेको छैन ।

प्रतिक्रिया:

सम्बन्धित खवर