भारतमा कोरोना संक्रमणको दर बढ्न थालेपछि काँकरभिट्टा नाकामा कडाई

भारतमा कोरोना संक्रमणको दर बढ्न थालेपछि काँकरभिट्टा नाकामा कडाई


२० चैत्र, झापा । भारतमा कोरोना भाइरस संक्रमणको दर बढ्न थालेपछि भारतको पश्चिम बंगालस्थित रानीगञ्ज पानीट्यांकीसँग सीमा जोडिएको नेपाल प्रवेशको पूर्वीद्वार काँकरभिट्टामा समेत कडाइ गर्न थालिएकोे छ ।

स्थानीय प्रशासनका अनुसार छिमेकी मुलुक भारतका विभिन्न मुख्य शहरहरुमा कोरोना भाइरस संक्रमणको दर बढ्न थालेपछि कामको खोजीमा गएका नेपालीहरु केही दिनयता यो नाका भएर घर फर्कन थालेका छन् ।

संक्रमण देखिएका ठाउँबाट आएका नेपालीबाट संक्रमण फैलिने डरले आवतजावतमा कडाइ गरिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक सुनिलसिंह दाहालले बताउनुभयो ।

खुला सीमानाका कारण त्यहाँबाट मानिसको आवतजावत हुनसक्ने प्रहरीको भनाइ छ । अहिले भारतका विभिन्न ठाउँबाट आउने र नेपालका विभिन्न ठाउँबाट भारततर्फ जाने सबैको अभिलेख राख्नुका साथै परिचय खुल्ने परिचय–पत्र अनिवार्य गरिएको छ ।

मेचीनगर नगरपालिकाको कोभिड–१९ रोकथाम नियन्त्रण व्यवस्थापन समितिले यसअघि सीमा नाकामा सञ्चालनमा ल्याएको हेल्थडेक्सलाई थप प्रभावकारी रुपमा सञ्चालन गरेको छ । समितिले संक्रमणको सम्भावनालाई मध्यनजर गर्दै पहिले सञ्चालनमा आएका क्वारेन्टाइन र आइसोलेसन केन्द्रलाई तयारी अवस्थामा राख्ने, स्वास्थ्य केन्द्रबाट प्रवाह हुने सेवालाई अझ प्रभावकारी बनाउने लगायतका निर्णय गरेको छ ।

अहिले भारतबाट नेपालतर्फ आउनेहरुको थर्मल गनबाट तापक्रम मापन गर्न थालिएको छ । यसका लागि सीमा नाकामा मेचीनगर नगरपालिका र सशस्त्र प्रहरीको सहायता कक्षमा स्वास्थ्य परीक्षण गरिने व्यवस्था मिलाइएको छ । भारततर्फ जानेहरुको समेत तापक्रम मापन गर्ने व्यवस्था मिलाइएको छ ।

आवतजावत गर्नेहरुलाई पछिल्लो ७२ घण्टाको पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ । नेपाली सेनाले मेची पुलमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको छ । सीमा नाकाबाट हुने आवतजावत र चेकजाँचलाई थप व्यवस्थित गर्न होल्डिङ सेन्टर सञ्चालन गरिएको हो । नेपाली नागरिकहरुलाई अत्यावश्यक काममा भारत जानु परे प्रक्रिया पूरा गरेर मात्र जान पाइने निर्णय गरिएको छ ।

मास्क, सेनिटाइजर, सामाजिक दूरी लगायत स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड कडाइका साथ लागू गरिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर