३ चैत्र, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढिकरणका लागि राजनीतिक दलबीचको सहकार्यलाई निरन्तरता दिनुपर्ने बताउनुभएको छ ।
आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित सर्वदलीय बैठकमा उहाँले आपसी संवाद, सहकार्य र एकता नेपालको राजनीतिक सौन्दर्य भएको पनि उल्लेख गर्नुभयो ।
‘हाम्रो समाज शालीन, सभ्य र सहिष्णु रहिआएको छ । यहाँको नेतृत्वले सधैं उच्च राजनीतिक संस्कार कायम गर्दै आएको छ । यो असल संस्कार निरन्तर कायम रहनुपर्छ’ राष्ट्रपतिको भनाई उधृत गर्दै राष्ट्रपति कार्यालयद्धारा विज्ञप्तिमा भनिएको छ ।
राष्ट्रपति भण्डारीले नेपालको अतिक्रमित भूभाग सामेल गरी गत जेठमा नयाँ रजनीतिक नक्सा प्रकाशन गर्न राजनीतिक दलहरुले अभूतपूर्व राष्ट्रिय एकता प्रदर्शन गरेको भन्दै धन्यवाद दिनुभयो ।
सर्वदलीय बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव सहभागी हुनुहुन्थ्यो ।
त्यस्तै गृहमन्त्री रामबहादुर थापा बादल, एमाले महासचिव ईश्वर पोखरेल, नेता सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, नेपाली कांग्रेसका तर्फबाट रामचन्द्र पौडेल, विमलेन्द्र निधि, डा. शशांक कोइराला, माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ र देव गुरुङ पनि सहभागी हुनुहुन्थ्यो ।
सर्वदलीय बैठकमा मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनकराज शर्मा र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल पनि सहभागी बन्नुभएको थियो ।
बैठकमा सहभागीहरुको धारणाः
अपरान्ह ४ बजे बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यो संसद्ले निकास नदिने भन्दै प्रतिनिधिसभा विघटन गरेर चुनावमा जानुपर्ने प्रस्ताव राख्नुभएको थियो । प्रधानमन्त्रीले ‘यो संसदले निकास दिन सकेन, संसद् विघटन गरौं । निर्वाचनबाटै समस्याको समाधान खोजौं’ भन्ने धारणा राखेका एक नेताले जनाए । यसअघि पनि आफूले निकास ननिस्किने देखेर नै संसद् विघटन गरेर चुनावको मिति घोषणा गरेको प्रधानमन्त्री ओलीको स्पष्टोक्ति थियो ।
बैठकमा सहभागी जनतामा समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवका अनुसार आजको बैठकमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, कांग्रेस उपसभापति विमलेन्द्र निधिले राष्ट्रपति भण्डारीको भूमिका तटस्थ हुन नसकेको भनेर उहाँकै सामू आलोचना गर्नुभएको थियो । र, नेताहरुले राष्ट्रपति भण्डारीको यही चैत्र ९ र १० गते हुने बंगलादेशको दुई दिने भ्रमणको सफतालको शुभकामना दिनुभयो ।
आजको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने नबोलेको बुझिएको छ ।