जसपाको विवाद उत्कर्षमाः एक समुह ओलीको पक्षमा, अर्को समुह विपक्षमा

जसपाको विवाद उत्कर्षमाः एक समुह ओलीको पक्षमा, अर्को समुह विपक्षमा


४ चैत्र, काठमाण्डौँ । अहिलेको विषम राजनीतिक परिस्थितीमा निर्णायक भूमिमा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालमा चर्को विवाद देखिएको छ । दुई धारबीच आन्तरीक द्वन्द्व उत्कर्षमा पुगेको छ ।

सत्ता साझेदारीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्ने कि ओली इतर राजनीतिक पक्षसँग सहकार्य गर्ने भन्नेबारे जसपा नेपालभित्र बहस चलिरहेको छ ।

जसपा नेपालले नेकपा एमालेसँग सत्ता साझेदारी गरेर अघि बढ्ने वा नेपाली काँग्रेस र माओवादी केन्द्रसँग मिलेर नयाँ गठबन्धनका साथ सरकारमा सामेल हुने भन्नेबारे निर्णय लिन सकिरहेको छैन । सो पार्टीका नेताहरुले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका साथै काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सत्ता समीकरणका बारेमा छलफल गर्दै आएका छन् ।

जसपाका नेताहरुको दौडधुप पछिल्लो समय निकै बढेको छ । उनीहरु पार्टी समायोजनको विषयलाई थाँती राखेरै भए पनि कहिले बालुवाटार, कहिले बूढानीलकण्ठ, कहिले पेरिसडाँडा पुगेर सत्ता गठबन्धनबारे छलफल गर्न व्यस्त हुने गरेका छन् । जसपा नेपालका नेताहरुको दौडधुप हेर्दा सत्ता अन्य दलको तुलनामा उनीहरुकै प्राथमिकतामा परेको प्रस्ट देखिन्छ ।
यद्यपि, जसपा नेपालले ओलीलाई साथ दिने कि देउवा–प्रचण्डलाई भन्नेबारे आफूलाई प्रस्ट रुपमा उभ्याउन सकेको छैन । बरु पार्टीभित्र यसबारे दुई धार देखिएको छ । एउटा धारले ओलीको पक्षमा निकटता देखाउन थालेको छ भने अर्काे पक्षले काँग्रेस र माओवादी केन्द्रसँग सहकार्य गर्नुपर्नेमा जोड दिन थालेको छ ।

जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको झुकाव प्रधानमन्त्री ओलीतिर देखिन्छ । पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई भने काँग्रेस र माओवादी केन्द्रसँग सहकार्य गरेर अघि बढ्नुपर्ने पक्षमा देखिन्छन् ।

रेशम चौधरीको रिहाइलगायत केही माग अगाडि सारेर जसपा नेपालले तीन ठूला दलसँग कुरा गरिरहे पनि आफ्नै पार्टीभित्र दुई धार भएका कारण त्यसले ठोस रुप लिन सकेको छैन ।

प्रतिक्रिया:

सम्बन्धित खवर