२६ फाल्गुन, काठमाण्डौँ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू संग प्रधानमन्त्री बन्ने कुनै उद्देश्य नभएको बताउनुभएको छ । उहाँले प्रधानमन्त्री पदसँग कुनै मतलब नै नभएको बताउदै पार्टी सभापतिका लागि भने आफु तयार रहेको बताउनुभएको हो ।
आज कांग्रेस सम्बद्ध आदिवासी जनजाति नेताहरूसँगको भेटमा पूर्व प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो–‘प्रधानमन्त्री पदसँग मतलब छैन् । बरु, फेरि सभापति बन्ने मेरो उद्देश्य छ ।’
उक्त भेटमा पूर्वसांसद सीता गुरुङलगायतका जनजाती नेताहरू सहभागी हुनुहुन्थ्यो । देउवाले आफू फेरि एकपटक सभापति बन्नेगरि आन्तरिक तयारीमा लागेकोले सत्ताको खेलमा नलाग्ने कुरा स्पष्ट पार्नुभएको थियो ।
पछिल्लो समय सर्वाेच्च अदालतको फैसला आएपछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग अलग भएका छन् । यो सँगै माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने तयारीमा जुटेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हिजोमात्रै सभापति देउवासँग सत्ता सहकार्यको लागि भेटवार्ता गरेका थिए । त्यसको भोलिपल्ट देउवाले आफू सरकारमा जान लालयित नभएको कुरा स्पष्ट पार्नुभएको हो ।