२० फाल्गुन, काठमाण्डौँ । सर्वाेच्च अदालतको हिजो बसेको आकस्मिक पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक मनाउन आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको छ ।
प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासहित सर्वाेच्च अदालतमा सबै न्यायाधीशको पूर्ण बैठकले आज एकदिन सर्वाेच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणलाई शोक बिदा दिने निर्णय गरेको सर्वाेच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिनुभयो ।
पूर्वप्रधानन्यायाधीश सिंहको यही फाल्गुन १८ गते साँझ निधन भएको थियो । सर्लाही जिल्लामा १९८८ साल फाल्गुन ३ गते जन्मिएका सिंहले २०१० सालदेखि सरकारी सेवामा अप्रिन्टिसको पदबाट सेवा प्रारम्भ गरी २०५२ साल असोज १० गते प्रधानन्यायाधीश पदमा नियुक्त भएको थियो । उहाँले २०५३ फाल्गुन ३ गतेसम्म प्रधानन्यायाधीशका रुपमा काम गर्नुभएको थियो ।