८ फाल्गुन, विराटनगर । डाक्टर र वैद्यले छाडेपछि प्रचण्ड झाँक्रीको साथमा पुगेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ । विराटनगरमा आयोजित सभामा उहाँले सुरुमा वैद्य र पछि डाक्टरले छाडेपछि प्रचण्ड झाँक्रीको साथमा पुगेको टिप्पणी गर्नुभएको हो । तर झाँक्रीले प्रचण्डलाई संरक्षण गर्न नसक्ने पनि बताउनुभयो ।
सिद्दिएका प्रचण्डलाई आफूले सिङ हाल्दिएको उहाँको तर्क थियो । आफूले लगाइदिएको सिङ बढेपछि सिध्याउन भन्दै लागेको बताउनुभयो । प्रचण्ड खिहिने बाटोमा अघि बढेको बताउनुभयो । ‘अझै पनि फर्कन चाहनुहुन्छ भने आउनुहोस्,’ उहाँले भन्नुभयो, ‘भिडबाट लड्नेलाई राम भन्न सकिन्छ, काँध हाल्न सकिन्न ।’
सोही प्रसङ्गमा उहाँले थप्नुभयो–‘प्रचण्डजीको त यस्तो माया लाग्छ, वैद्य हुनुहुन्थ्यो, उहाँले छोडेर हिंड्नु भयो, डाक्टरको साहरा लिनुभयो, डाक्टरले पनि छोड्नु भयो,’ ओलीले भने, ‘अहिले त झाँक्री लिएर हिंड्नु भएको छ । उहाँले गलत बाटो रोज्नु भयो । त्यसले सफल बनाउँदैन ।’
प्रचण्ड–माधव पक्षले काठमाडौंमा गरेको सभालाई इंगित गर्दै ओलीले विराटनगरमा सभा हेर्न आउन आग्रह गर्नुभयो । ‘केही मानिसहरु यो पार्टीलाई सिध्याउन र विभाजित गर्नका लागि फुटको खेतिमा तल्लिन छन् । अस्ति २÷४ हजार मानिस जम्मा गरेर मलाई धाक लगाउँदै थिए । केपी ओली जनताको अनुहार हेर्न आउ भनेर । म तिनीहरुलाई भन्छु, यतातिर पनि हेर्ने कि आएर ?,’ ओलीले भन्नुभयो, ‘चन्द्रमाले मात्रै आजको सभा कत्रो छ भनेर देख्छ अरुले देख्न सक्दैन ।’
ओलीले विकास निर्माणको क्षेत्रमा सरकारले ऐतिहासिक तीब्रताको साथ काम गरेको बताउँदै अर्काे वर्षमात्रै नेपाल विकासिल मुलुकमा स्तरउन्नति हुने दाबी गर्नुभयो । विभिन्न तथ्यांक उल्लेख गर्दै उहाँले २०२२ सम्ममा विकासिल हुने र सन् २०३० भन्दा अगाडि नै दिगो विकासको लक्ष्यमा पुग्ने दाबी गर्नुभयो ।
ओलीले कोभिडविरुद्धको भ्याक्सिनका डोजहरु पनि चीनबाट ल्याउन लागिएको उल्लेख गर्दै, जनतालाई खान, लाउने, शिक्षा, स्वास्थ्यको पहुँमा पुग्न सक्ने अवस्था सिर्जना गर्ने, सामाजिक न्यायको क्षेत्रमा विभेद अन्त्य गर्ने, अन्धविश्वासमा नभएर आधुनिक, विकासित समाज निर्माण गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।