२७ माघ, काठमाण्डौँ । प्रहरीले नेकपा प्रचण्ड माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई रिहा गरेको छ । गत माघ १६ गते गोर्खामा आयोजित सभामा राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर महानगरीय अपराध महाशाखाले राज्यविरुद्धको कसुरमा अनुसन्धानका लागि भन्दै ‘जरुरी पक्राउ पूर्जी’ थमाएर झाँक्रीलाई बिहीबार शंखमूलस्थित निवासबाटै पक्राउ गरेको थियो । पक्राउ गरेर झाँक्रीलाई मीनभवनस्थित अपराध महाशाखा प्रमुख दिपक कार्कीको कार्यकक्षमा राखिएको थियो ।
नेत्री झाँक्रीले सरकारले चौतर्फी दबाब थेग्न नसकेपछि आफूलाई रिहा गरेको प्रतिक्रिया दिएकी छिन् । आज दिउँसो पक्राउ परेकी झाक्रीले साँझ श्रीमान् पशुपति पुरीको जिम्मा जमानीमा रिहा भएपछि यस्तो प्रतिक्रिया दिनुभएको हो ।
रिहा भएपछि झाँक्रीले आफ्ना कार्यकर्ताहरु संग कुरा राख्दै प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त हुने पनि उद्घोष गर्नुभयो । ‘चौतर्फी दबाव थेग्न नसकेपछि सरकारले मलाई रिहा गरेको हो । प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त हुन्छ, बनाइन्छ ।’
राष्ट्रपतिविरुद्ध अशोभनीय अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले झाँक्रीलाई पक्राउ गरेको थियो । तर उहाँलाई पक्राउ गरिएसँगै चौतर्फी रुपमा रिहाइको माग गएको थियो ।