२७ माघ, काठमाण्डौँ । प्रतिनिधिसभा विघटन गरेर घोषणा गरेको मध्यावधि निर्वाचनको तयारीबारे जानकारी लिन भन्दै प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोगको कार्यलय पुग्नुभयो ।
त्यहाँ निर्वाचन आयोगका पदाधिकारीले अहिलेसम्म भएको तयारीबारे ब्रिफिङ मात्र गरेनन्, बजेट र बन्दोबस्तीका सामान लगायतको आवश्यकताबारे पनि जानकारी गराए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले निर्वाचन तयारीको काम निरन्तर अगाडि बढाउन आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीसँग उपप्रधानमन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री विष्णु पौडेलका साथै सुवासचन्द्र नेम्वाङ पनि आयोग पुग्नुभएको थियो ।
आयोगमा विचाराधीन रहेको आधिकारिकता विवादतर्फ इंगित गर्दै ओलीले सूर्यबाहेक अरू कुनै चिह्नबाट आफूले निर्वाचन नलडेको बताउनुभयो ।
प्रधानमन्त्री र आयोगका पदाधिकारीहरुबीच भएको भेटपछि संञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रेस सल्लाहकार थापाले प्रधानमन्त्री आयोगमा जानुको उद्देश्य पार्टीको आधिकारिकताको विषयमा छलफल गर्नु नभएको दाबी गर्नुभयो ।
तर प्रधानमन्त्रीले आयोगका पदाधिकारीहरुसँग नेकपाको आधिकारिकता विवादबारे कुरा गरेको पाइएको छ । आयोगमा विचाराधीन रहेको आधिकारिकता विवादतर्फ इंगित गर्दै ओलीले सूर्यबाहेक अरू कुनै चिह्नबाट आफूले निर्वाचन नलडेको बताउनुभयो ।
पार्टी एकता हुँदा पुष्पकमल दाहाल प्रचण्डसँग सूर्य चिह्न कायम गर्ने सहमति भएको, तर एकता नटुंगिदै दुर्भाग्यपूर्ण अवस्था आएको भन्दै उहाँले भन्नुभयो, ‘कहिल्यै सूर्य चिह्नबाट चुनाव नलडेको प्रचण्ड र मेरा बीचमा सहमति भयो, हामीले एकता र्गयौं । एकताको प्रक्रिया टुंगिन पाएको थिएन, फेरि दुर्भाग्यपूर्ण अवस्था आयो ।’
पार्टी एकता गर्दा पनि सूर्य चिह्न राख्ने समझदारी प्रचण्डले भत्काएको ओलीको भनाइ थियो । उहाँको आशय सूर्य चिह्नबाटै आगामी चुनाव लड्छु भन्ने देखिएको स्रोतले बतायो । उहाँले आयोगमा भन्नुभयो, ‘मैले चुनावमा जाँदा पार्टी नभएको, निर्वाचन चिह्न नभएको भन्ने अवस्था त कसरी आउन मिल्छ र ?’
आयोगले माघ ११ मा नेकपाबारे निर्णय लिइसकेकाले अब निर्वाचनभन्दा अरुतिर ध्यान नदिन ओलीले आग्रहसमेत गर्नुभयो । त्यो दिन आयोगले पुस ५ यताको दुवै समूहले गरेको दावी अमान्य हुने निर्णय गरेको थियो । तर प्रचण्ड–माधव समूहले राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार, वैधानिकता दावी गर्दै पत्र बुझाएको छ ।