२६ माघ, काठमाण्डौँ । के सत्ता चलाउनेहरु भावनामा डुब्न पुग्छन् ? भनिन्छ भावनामा परेमा सत्ता चलाउन सहज हुँदेन । राजनीतिको उचाईमा पुगेकाहरुको मुटु दरिलो हुन्छ र भावनामा पर्न चाहँदैनन् । तर, यति भन्दा भन्दै अनायासै भावुक बन्न पुग्छन् । यस्तै भए प्रधानमन्त्री केपी शर्मा ओली ।
२३ माघमा नेकपाको आफ्नो समूहले आयोजना गरेको जनसभामा ओली भावुक बन्नुभयो । भाषणका दौरान उहाँ बोल्नै नसक्ने गरी रोक्किनुभयो । उहाँको पक्षमा नारा लाग्न थालेपछि झन् भावुक हुनुभयो । आँखाबाट आँसु झरेपछि चश्मा झिकेर सेतो रुमालले पुछ्नुभयो । तर उहाँले चीसो लाग्यो मात्र भन्नुभयो । वास्तमा ओली भावुक भएर रोएकै थिए । यसको पुष्टि उहाँका प्रेस सल्लाहकार सुर्य थापाले गरिसक्नुभएको छ ।
विगतमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आँसु निकालेको धेरै घटना छ । जनयुद्धताका सांस्कृतिक कार्यक्रम हेर्दा हेर्दै प्रचण्ड भक्कानिएर रुनुभएको थियो । तत्कालिन माओवादी नेता डा. बाबुराम भट्टराई पनि रोएको इतिहास साक्षी छ । त्यतिबेला हिंसात्मक गतिविधिमा लागेको माओवादीको नेतृत्वको टोली नै रोएको थियो ।
प्रचण्डलाई कतिपयले क्रुर नेताको आरोप लगाउँछन् । उहाँको बोली र व्यक्तित्व आक्रामक देखिन्छ । तर, उहाँ निकै भावुक हुनुहुन्छ । प्रचण्डले सार्वजनिक कार्यक्रममा पनि आँसु खसाल्नुभएको छ ।
विगतमा कृष्णप्रसाद भट्टराई पनि संसदमा आँसु खसाल्नुभएको थियो । उहाँले अविश्वासको प्रस्तावको सामना गर्दै जवाफ दिने क्रममा आँसु झार्नुभएको थियो । गलत आरोप लगाएर मारिएका भीम मल्लकी पत्नी सती बन्दा सरापेको विषय उठाएर भक्कानिएर रुनु भएको थियो ।
गिरिजाप्रसाद कोइराला पनि संसदमा बोल्दा बोल्दै भावुक बन्नुभएको थियो । उहाँलाई कठोर मुटु भएको नेता भनेपनि भावुक पनि हुनुहुन्थ्यो ।
गणेशमान सिंहले आँसु झार्दै काँग्रेस छाडेको इतिहास साक्षी छ । उहाँलाई पनि भावुक नेता मानिन्छ । रिपोर्टस नेपाल