आज शहीद दिवस मनाइदैं

आज शहीद दिवस मनाइदैं


१६ माघ, काठमाण्डौँ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ ।

शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट शहीदको सपना पूरा गर्न लागि परेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ ।

माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो ।

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।

यस्तै शहीद दिवसको अवशरमा राष्ट्रपति विद्यादेवी भण्डारीले संदेश जारी गर्नुहुँदै नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने महान् शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलगायत सबै अमर शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । आफ्नो अमूल्य जीवनलाई जनता र राष्ट्रको हितका खातिर समर्पण गर्नु नै शहादत हो भन्दै राष्ट्रपति भण्डारीले शहीद दिवसले हामीलाई शहीदले गरेको यही सर्वाेच्च त्यागको स्मरण गराउनुभएको हो ।

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिको आकाङ्क्षाविपरीत खडा गरिएका चुनौतीलाई एकजुट भएर पराजित गर्नुपर्ने बताउनुभएको छ । शहीद दिवस–२०७७ का सन्दर्भमा अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न स्थिर राजनीति अपरिहार्य भएको चर्चा गर्दैै शहीदहरूको बलिदानीपूर्ण सङ्घर्षको मार्गदर्शनबाट समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउँदै राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तव्य हामीले तय गरेको बताउनुभएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर