परराष्ट्रमन्त्री ज्ञवाली नेपाल फर्कदैंः सीमा विवादबारे छलफल भएन

परराष्ट्रमन्त्री ज्ञवाली नेपाल फर्कदैंः सीमा विवादबारे छलफल भएन


३ माघ, काठमाण्डौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारतको तीन दिने भ्रमण पूरा गरी आज दिउँसो नेपाल फर्किनुहुदैछ । उहाँको भ्रमणमा सीमा विवादबारे छलफल हुने अपेक्षा गरिए पनि भारतीय पक्षसँग त्यस किसिमको छलफल हुन नसकेको स्रोतले जनाएको छ । बरु कामचलाउ हैसियतमा रहेको वर्तमान सरकारले सीमा विवादको तिक्ततालाई थाँती राखेर भारतबाट थप विश्वास आर्जन गर्नका लागि भ्रमण केन्द्रित गरेको विश्लेषकहरुको भनाइ छ ।

दुबै पक्षले कनेक्टिभिटी, अर्थव्यवस्था र व्यापार, विद्युत, तेल र ग्यास, जलस्रोत, राजनीतिक र सुरक्षा मुद्दाहरू, सीमा व्यवस्थापन, विकास साझेदारी, पर्यटन, सँस्कृति, शिक्षा र क्षमता अभिवृद्धि लगायतका सहयोगका विभिन्न क्षेत्रहरूमा छलफल गरेका छन् । तर कालापानी, लिपुलेक लिम्पियाधुरा लगायत सीमा विवादको विषयमा परराष्ट्रमन्त्रीको भारत भ्रमणका क्रममा चर्चा नै भएन ।

परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमणका क्रममा भारतले नेपालमा चुनाव चाहेको सन्देश दिएको छ । परराष्ट्र मन्त्री ज्ञवालीले त्यहाँ गरेका विभिन्न उच्चस्तरीय भेटघाट तथा बैठकहरुमा नेपालमा देखिएको राजनीतिक संक्रमणको बारेमा चर्चा गर्दा भारतले आफू प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारकै पक्षमा रहेको स्पष्ट पारेको स्रोतहरुले दावी गरेका छन् ।

स्रोतका अनुसार ओली नेतृत्वको सरकारले जे निर्णय गरेको छ, त्यसको पक्षमा रहेको सन्देश भारतले मन्त्री ज्ञवालीलाई दिएको छ । संसद विघटनको मुद्दा सर्वाेच्च अदालतमा विचाराधीन छ । भारतले पनि संसद विघटनका बारेमा सर्वाेच्च अदालतबाटै उचित फैसला हुने भन्दै तत्कालका लागि निर्वाचनमा जाने एजेण्डाकै समर्थन जनाएको स्रोत बताउँछ ।
मन्त्री ज्ञवालीको भ्रमणले नेपाल–भारतको बीचमा रहेको तनाव केही कम भएको छ र वार्ताका ढोकाहरु खुलेको विश्लेषण पनि भइरहेको छ ।

नेपाल–भारत सम्बन्धको बारेमा जानकार एसडी मुनीले परराष्ट्र मन्त्री ज्ञवालीको भारत भ्रमणमा कुनै विषयमा सम्झौता नभए पनि दुई देशको बीचमा रहेको तनावलाई कम गर्न भूमिका खेलेको बताउनुभयो । यसअघि भारतको तर्फबाट भएको उच्चस्तरीय नेपाल भ्रमण र अहिले मन्त्री ज्ञवालीको भारत भ्रमणले दुई देशको बीचमा रहेको केही असमझदारीलाई कम गर्ने देखिएको बताउँदै उहाँले भारतको संस्थापन पक्ष नेपाल सरकारको पक्षमा रहेको कुरा प्रष्ट भएको जिकिर गर्नुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर