२० पौष, धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थाई कमिटी सदस्य समेत रहनुभएका उद्योगमन्त्री लेखराज भट्टले सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरुलाई प्रचण्ड–माधव समूहले धम्की दिन थालेको दाबी गर्नुभएको छ ।
धनगढीमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा भट्टले आफ्नो पक्षमा धेरै सांसद देखाउन प्रचण्ड–माधव समूहले ब्ल्याकमेलिङ गर्न थालेको दाबी गर्नुभयो । केही दिनअघि संसदीय दलको बैठकमा प्रचण्ड–माधव समूहका ३० सांसद सहभागी भएको तर्फ संकेत गर्दै उहाँले भन्नुभयो ‘ब्ल्याकमेलिङ गरेर बनाएको ३० जनालाई मान्दिन मैले । त्यहाँभित्र धम्की गएको छ ।’
ओली पक्षमा गए समानुपातिक सांसदको पद खोस्ने र मन्त्रीबाट हटाउने धम्की समेत दिएको उहाँको आरोप छ ।
यस्तै सरकारले तोकेको समयमा नै निर्वाचन हुने उहाँको दाबी छ । सोमबार धनगढी पुगेका मन्त्री भट्टले चुनावको प्रारम्भिक प्रचारका लागि आफू कैलाली आएको समेत बताउनुभयो ।
औपचारिक रूपले पार्टी विभाजन हुनु पहिले नै मन्त्री भट्टले केन्द्रमा पार्टी फुटिसकेको बताउनुभयो । ‘पार्टी माथिबाटै फुटेकै हो, तर कार्यकर्ताहरूले यसलाई रुचाएका छैनन्,’ उनले भने, ‘सम्पूर्ण कार्यकर्ताहरूहरु संस्थापन पक्षमै छन् ।’