३ पौष, काठमाण्डौँ । अर्थमन्त्री विष्णु पौडेलले कोरोना भाइरस विरुद्धको खोप आयात गरी नागरीकलाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताउनुभएको छ । विश्व बजारमा विभिन्न कम्पनीले उत्पादन गरेको खोप सहजरुपमा उपलब्ध हुने क्रममा रहेको उल्लेख गर्दै उहाँले सरकार खोप आयात तथा वितरणका लागि लागिपरेको बताउनुभयो ।
नेपाल आर्थिक पत्रकार सङ्घको नवनिर्वाचित कार्य समितिका पदाधिकारीसँगको भेटमा अर्थमन्त्री पौडेलले कोरोनाको लक्षण देखिएका नेपालीको निःशुल्क परीक्षण र उपचार गरे जसरी नै खोपको आर्थिक दायित्व पनि राज्यले व्यहोर्ने बताउनुभयो ।
उहाँले विश्व बजारमा सहजरुपमा उपलब्ध हुनासाथ नेपालमा आयात गर्नका लागि तयारी भइरहेको जानकारी दिनुभयो । मन्त्री पौडेलले मापदण्ड अनुसार कोरोना भाइरस विरुद्ध अग्रमोर्चामा खटिएका र वृद्धवृद्धालाई प्राथमिकता दिने र त्यसपछि सबैलाई खोप उपलब्ध गराएर कोभिड विरुद्धको लडाईलाई निर्णायक बनाउने दिशामा सरकार केन्द्रित रहेको बताउनुभयो ।
उहाँले कोरोना संक्रमणबाट प्रभावित अर्थतन्त्र र जनजीवनलाई पुरानै लयमा फर्काउन र चलायमान बनाउन सरकार लागि परेको जनाउनुभयो ।
–रासस