प्रचण्डसंगको छलफलपछि संवैधानिक परिषद्को बैठक स्थगित

प्रचण्डसंगको छलफलपछि संवैधानिक परिषद्को बैठक स्थगित


२ पौष, काठमाण्डौँ । आज (बिहीबार) साँझका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । सत्तारुढ दल नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी ओलीले बैठक बोलाएसँगै बालुवाटार पुग्नुभएका नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले आपत्ति जनाएपछि ओलीले बैठक स्थगित गर्नुभएको हो ।

स्रोतका अनुसार ओलीसँगको भेटमा प्रचण्डले अध्यादेश फिर्ता लिने निर्णय भइसकेको अवस्थामा बैठक बोलाइनुको कारणबारे प्रश्न गर्नुभएको थियो । तर, बैठकमा ओलीले केही छलफल गर्नुपर्ने भएकाले बैठक बोलाइएको अस्पष्ट जवाफ दिनुभएको थियो ।

तर, प्रचण्डले प्रतिवाद गर्दै पार्टीले निर्णय गरेअनुसार अघि बढ्नुपर्ने र अहिलेको अवस्थामा बैठकको औचित्य नहुने बताउनुभएको थियो । त्यसपछि बुधबारको स्थायी समिति बैठकअनुसार नै अध्यादेश फिर्ता हुने र आजको बैठकपनि स्थगित गर्ने ओलीले बताउनुभएको थियो ।

यसअघि एकाएक ओलीले संवैधानिक परिषद्को बैठक बोलाएपछि नेकपामा तरंग उत्पन्न भएको थियो । नेकपा स्थायी समिति बैठकले सरकारले मंगलबार ल्याएको अध्यादेश फिर्ता लिने निर्णय गरिसकेको अवस्थामा कतै ओलीले त्यसलाई उलंघन गर्न खोजेका हुन् कि भन्ने आशंकाका साथ सो पार्टीमा तरंग उत्पन्न भएको हो ।

सोही आशंकाका बीच प्रचण्ड ओलीसँग छलफलका लागि बालुवाटार पुग्नुभएको थियो ।

अध्यादेश फिर्ता लिनलाई मन्त्रिपरिषद् बैठक बसेर अर्काे अध्यादेश जारी गर्नुपर्ने हुन्छ । त्यसबारेमा छलफल गर्न बिहीबार साँझको लागि मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।

यस्तै प्रधानमन्त्री ओलीले एकपटक राष्ट्रपतिसँग भेट गरेपछि अध्यादेश फिर्ता लिने कार्यकारी अध्यक्ष प्रचण्डलाई बताउनुभयो ।

बुधबार आयोजित स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने प्रतिवद्धता जनाउनुभएको थियो । तर, बिहीबार ५ बजेका लागि संवैधानिक परिषदको बैठक डाकिएपछि आक्रोशित देखिएका प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुग्नुभएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर