२३ मंसिर, काठमाण्डौँ । देश अहिले कोरोना महामारीले आक्रान्त छ । महामारीका बीच देशमा भएको राजनीतिक परिवर्तनमाथि चुनौती थपिएको छ । गणतन्त्र, संघीयता र धर्मनीरपेक्षतालाई उल्टाउने गरी सडकमा प्रदर्शनहरु हुन थालेका छन् ।
शुरुमा केही व्यक्तिहरु सडकमा ओर्लिएकोमा विस्तारै संगठित रुपमा राजावादीहरुको प्रदर्शन हुन थालेको छ । विभिन्न संस्थाका नाममा सडकमा ब्यानरसहित दिनहुँ प्रदर्शन हुँदै आएको छ ।
झापा, विराटनगर, जनकपुर, वीरगञ्ज, बुटवल, चितवन, धनगढीका अलावा काठमाडौंमा पनि उनीहरुले शक्ति प्रदर्शन गरेका छन् । प्रदर्शन फैलदो र बढ्दो भएपछि सरकार पनि गम्भीर भएको छ ।
दैनिक रुपमा राजावादीको प्रदर्शन र सडकमा प्रदर्शनकारी बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भावी रणनीति तय गर्न खोज्नुभएको छ । उहाँले कडा रणनीति बनाउन खोजेको बुझिएको छ । त्यसका लागि प्रमुख राजनीतिक दलका शिर्ष नेतासँग परामर्श गर्न लाग्नुभएको छ । उहाँले आज सर्वदलीय बैठक बोलाउनुभएको छ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका शिर्ष नेताहरुलाई बोलाइएको छ । तर, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई निम्तो छैन । राप्रपा राजसंस्था फर्काउने एजेन्डासहित सडकमा उत्रिएको छ ।