२२ मंसिर, काठमाण्डौँ । भोली (मंगलबार) नेपाल र चीन दुवै देशले एकैपटक सगरमाथाको उचाइ सम्बन्धी प्रतिबेदन सार्वजनिक गर्ने भएका छन् । भूमि व्यवस्था मन्त्रालयका अनुसार भोली नेपाल र चीन दुबै देशले एकै पटक सार्वजनिक गर्न नेपाल सरकारले चीन सरकारसँग प्रस्ताव गरेको हो । यसमा चिनियाँ पक्षले सहमति जनाएको मन्त्रालयले जनाएको हो ।
स्रोतका अनुसार दुवै देशका परराष्ट्रमन्त्रीहरुले संयुक्त रुपमा भर्चुअल बैठकबाट उचाइ सार्वजनिक गर्ने भएका छन् । दुवै देशले छुट्टाछुट्टै साधन र स्रोत प्रयोग सगरमाथाको उचाइ मापन पूरा गरेका छन् । करिब २ वर्षअघि विभागले सगरमाथाको उचाई मापन गर्न सुरु गरेको हो । यसका लागि सुशिल डंगोलको संयोजकत्वमा सगरमाथा उचाई मापन सचिवालय टोली गठन गरिएको थियो । सचिवालयले गत असारमै रिपोर्ट तयार गरेको थियो ।
सगरमाथा मापन टोलीले ग्लोबल न्याभिकेसन स्याटलाइट सिस्टम (जिएनएसएस) प्रविधिबाट सगरमाथा मापन गरेको हो ।
यो प्रविधि सबैभन्दा अत्याधुनिक मानिन्छ । सगरमाथाको मापन गर्न नापीका दुईजना कर्मचारी खिमलाल गौतम र रवीन कार्की मेसिन बोकेर मे २३, २०१९ मा सगरमाथाको चुचुरोसम्मै पुगेका थिए । उनीहरू चुचुरोमा १ घण्टा १६ मिनेट बसेका थिए । २०७५ चैत २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीनिवास बालुबटारबाट सगमारथा मापनमा जाने टोलीलाई विदा गर्नुभएको थियो । ४ जनाको टोलीमध्ये गौतम र कार्की चुचुरामै पुगेका थिए भने सुरजसिंह भण्डारी र युवराज धिताल आधार शिविरसम्म पुगेका थिए ।