१४ मंसिर, काठमाण्डौँ । चिनिया रक्षामन्त्री वेइ फेङहेको आज हुन लागेको एकदिवसीय कार्यगत भ्रमणले नेपाल र चीनबीचको सुरक्षा सम्बन्ध अझ सुदृढ भई द्विपक्षीय सैन्य सहायता अभिवृद्धिमा फलदायी हुने अपेक्षा गरिएको छ ।
तत्कालीन रक्षामन्त्रीको निमन्त्रणामा हुन लागेको यो भ्रमण शताब्दीऔँ पुरानो समस्यारहित नेपाल–चीन सम्बन्ध परिवर्तित वर्तमान सन्दर्भमा अर्थपूर्ण मानिएको छ । नेपालबाट दुईपटक रक्षामन्त्रीको चीन भ्रमण भइसकेकाले बेइजिङबाट पनि रक्षामन्त्रीको भ्रमण हुनुलाई असामान्य मान्नुपर्दैन ।
एक्काइस सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट आज काठमाडौँ आइपुग्ने चिनियाँ रक्षामन्त्रीले ८ घण्टा काठमाडौँमा विताउनुहुने छ । त्यअवधीमा राष्ट्रपति विद्यादेवी भण्डारी, रक्षामन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता गर्नुहुनेछ । परराष्ट्र मन्त्रालयले नेता वेइको यो भ्रमणई ‘कार्यगत’ भ्रमण भने पनि यसलाई सद्भावना भ्रमण रहेको जनाएको छ ।
दुवै देशको हित र साझा भविष्यका लागि सहकार्य र साझेदारीलाई बढावा दिँदै सुरक्षासम्बन्धी मामिलामा आश्वस्त हुन तथा एकआपसका चाहना र आवश्यकताबारे जानकारी लिन यो भ्रमणबाट मद्दत पुग्ने मात्र नभई सम्बन्धको नवीकरण एवं आत्मीयता प्रकट गर्ने उपयुक्त अवसर हुनेछ । चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणपूरा भएको झण्डै एकवर्ष उहाँपछि उच्चस्तरमा पहिलोपटक हुन लागेको यो भ्रमणलाई चीनले नेपाललाई प्राथमिकतामा राखेको पुनर्पुष्टि पनि गरेको छ ।
अरनिको र भृकुटीले जोडेको युगौँ पुरानो नेपाल–चीन सम्बन्ध सन् १९५५ मा दुईमुलुकबीच कूटनीतिक सम्बन्ध कायम भएपछि निरन्तर मौलाउँदै गएको छ भने मैत्रीपूर्ण सहयोगको परम्परा र उच्चस्तरीय भ्रमण आदानप्रदानले पारस्परिक आत्मीयता अझ बढाएको छ । कोरोना महामारीकाबीच भइरहेको चिनियाँ रक्षामन्त्रीको भ्रमणले नेपाल बेइजिङको उच्च प्राथमिकतामा रहेको मात्र दर्शाउँदैन अपितु शान्तिपूर्ण सहअस्तित्वका हिमायति नेपाल र नेपालीप्रति अगाध स्नेह पनि झल्काउँछ ।