उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

१४ मंसिर, काठमाण्डौँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित हुनुभएको छ । आईतवार विहान सम्पन्न मतगणना अनुसार उहाँ आफ्ना प्रतिद्वन्द्दी किशोर प्रधानलाई पराजित गर्दै वरिष्ठ उपाध्यक्षमा विजयी हुनुभएको हो ।

शनिवार भएको ५४ औं वार्षिक साधारण सभाबाट वरिष्ठ उपाध्यक्षमा ढकाल निर्वाचित हुनुभएको हो । महासंघको विधान अनुसार ढकाल अव निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको २० औं अध्यक्ष बन्ने निश्चित भएको छ । नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ढकालले शेखर गोल्छापछि महासंघको नेतृत्व गर्नुहुने छ ।

निर्वाचन समितिका अनुसार ३० प्रतिशत मत भार रहेको एशोसिएटमा चन्द्रप्रसाद ढकालले ५२२ र किशोर प्रधानले ३७५ मत प्राप्त गर्नुभएको थियो । २० प्रतिशत मत भार रहेको वस्तुगतमा ढकालले ५९ किशोर प्रधानले ३९ मत ल्याउनुभएको थियो । ५० प्रतिशत मत भार रहेको जिल्ला नगरतर्फ ढकालले ५२ र प्रधानले ५३ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै वस्तुगत तर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ र जिल्ला नगर तर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ तथा एसोसियट तर्फको उपाध्यक्षमा रामचन्द्र सङ्घाई निर्वाचित हुनुभएको छ ।

निर्वाचित भएपछि वरिष्ठ उपाध्यक्ष ढकालले आफूले सम्पूर्ण व्यवसायीहरुको प्रतिनिधित्व गरेको र आफ्नो जीत भनेको व्यवसायीको जीत भएको प्रतिक्रिया दिनुभएको छ । प्यानल बनाएर निर्वाचनको मैदानमा उत्रिएका उपाध्यक्ष ढकालले मतपरिणाम घोषणासँगै आफुले प्यानल तोडेर व्यवसायीको हितमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर