
१० मंसिर, विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पताल गएराति दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
उपचारका क्रममा सुनसरीका एक महिला र एक पुरुषको ज्यान गएको हो ।
सुनसरीको रामधुनी नगरपालिका–६ का ४० वर्षीय पुरुषकोे राति ११ः४० बजेतिर ज्यान गएको हो । श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि मंगलबार दिउँसो अस्पताल ल्याइएका उनको पीसीआर परीक्षण गराउँदा साँझ रिपोर्ट पोजिटिभ आएको थियो । आइसोलेसनमा भर्ना गरेर उपचार थालिए पनि पुरुषको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो ।
त्यस्तै सुनसरीको धरान उपमहानगरपालिका ७ की ५० वर्षीया महिलाको पनि राति ९ः१५ बजे मृत्यु भएको छ । दाहालका अनुसार महिलालाई कोरोना पुष्टि भएपछि उपचारका लागि मंसिर ६ गते अस्पताल भर्ना गरिएको थियो ।
महिलामा ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने लगायतका समस्या रहेको दाहालले बताउउनुभयो । दुवै शव व्यवस्थापनका लागि प्रक्रिया अघि बढाइएको दाहालले जानकारी दिनुभयो ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७