५ मंसिर, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले छैठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत विभेद अन्त्य गरी समतामूलक, प्रगतिशील, सभ्य र समुन्नत समाज निर्माण गर्नेतर्फ अग्रसर हुन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।
छैठ पर्व २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुका लागि शुभकामना व्यक्त गर्नुहुँदैँ उहाँले विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ को बढ्दो सङ्क्रमणबाट जोगिन पूर्वसावधानीका उपाँयको पालना गर्दै मनाउन सबैमा आह्वानसमेत गर्नुभएको हो ।
छैठले मौलिक संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्दै सबै नेपालीमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउनाका साथै राष्ट्रिय एकतालाई थप सुदृढ गर्ने विश्वाुस पनि उहाँले व्यक्त गर्नुभएको छ ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि छैठ पर्वको अवशरमा शुभकामना सन्देश व्यक्त गर्नुहुँदै राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन आग्रह गर्नुभएको छ ।
सन्देशमा प्रधानमन्त्री ओलीले महामारीमा मानव स्वास्थ्य सुरक्षाका लागि तोकिएका मापदण्ड अनुशरण गर्दै विशेष सावधानी अपनाएर यसवर्षको छैठ पर्व मनाउन आग्रह गर्नुभएको छ ।
तराईको मिथिला क्षेत्रमा महापर्वका रुपमा सनातन कालदेखि मनाईदै आइएको छैठले सम्पूर्ण नेपालीहरुलाई सुख, शान्ति, समृद्धि तथा खुसीयाली ल्याहोस् भन्दै प्रधानमन्त्री ओलीले चाडपर्व र संस्कृतिका दृष्टिले विविधतायुक्त नेपाली समाजमा यस्ता पर्वले सौहार्दपूर्ण अन्तरसम्बन्धलाई अझ मजबूत बनाउने उल्लेख गर्नुभएको छ ।
नेपालको विशेषगरी तराई तथा मधेश क्षेत्रमा मनाइने छैठ पर्व हाल काठमाडौँ उपत्यकालगायत अन्य पहाडी तथा हिमाली जिल्लाहमा समेत हर्षाेल्लासका साथ मनाईन्छ ।
कार्तिक शुक्ल चतुर्थीदेखि पंञ्चमी, षष्ठी र सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीका किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अघ्र्य दिएर यो चाड मनाइन्छ ।
यस पर्वमा सूर्य देवता र छठी माताको पूजार्चना गरी छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, समाज र परिवारको कल्याण हुने तथा आफ्ना सम्पूर्ण कष्ट हटेर जाने जनविश्वास छ ।