३० कार्तिक, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन आह्वान गर्नुभएको छ । नेपाल सम्वत ११४१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले एकता मार्फत नै ‘हामी समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समर्थ हुने विश्वास व्यक्त गर्नुभयो ।
शुभकामना सन्देशमा उहाँले जननिर्मित संविधानको संस्थागत कार्यान्वयन मार्फत मुलुकलाई विकास र समृद्धिको दिशामा अग्रसर गराइरहेका उल्लेख गर्दै सिंगो देश नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरेको उल्लेख गर्नुभएको छ ।
उहाँले बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताायुक्त नेपाली समाज सुदृढ राष्ट्रिय एकताको जगमा उभिएको जनाउँदै नेपालको विविधतायुक्त मौलिक परम्परा सिंगो राष्ट्रका साझा पूँजीका रुपमा अङ्कित रहेको उल्लेख गर्नुभएको छ । ‘एकताको यस राष्ट्रिय पूँजीलाई हामीले मुलुक निर्माणको आधारस्तम्भका रुपमा आत्मसात गरेका छौं । हाम्रा सांस्कृतिक विविधतालाई विग्रह र द्वन्द्वको अवसरका रुपमा दुरुपयोग गर्न बेलाबेला भएका दुष्प्रयासहरुलाई पनि हामीले आपसी एकताद्वारा पराजित गर्दै राष्ट्रिय एकता, स्वाधीनता, स्वतन्त्रता र राष्ट्रिय अखण्डताको रक्षा गर्दै आएका छौं ।’ उहाँले भन्नुभएको छ ।