यमपंञ्चक अर्थात तिहार आजदेखि शुरु, कुकुर तिहार भोली

यमपंञ्चक अर्थात तिहार आजदेखि शुरु, कुकुर तिहार भोली

२७ कार्तिक, काठमाण्डौँ । कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने यमपंञ्चक अर्थात तिहार आजदेखि शुरु हुँदैछ । आज बेलुकी यमदीपदान शुरु गर्नुपर्ने छ ।

यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग तिहार कार्तिक २८ गते भोली परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

यस अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यसैगरी धन्वन्तरिजयन्ती र धनतेरस पर्व पनि भोली नै परेको छ ।

तिथिको घटबढका कारण यस्तो भएको समितिले जनाएको छ । यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने उहाँले बताउनुभयो । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।

कार्तिक २९ गते शनिबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा गर्नुपर्छ । अपराह्न १ः४९ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि आँैशी तिथि लाग्ने भएकाले शास्त्रसम्ममत रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले बताउनुभयो ।

गाई, गोरु र आत्म (म्ह) पूजा कार्तिक ३० गते आइतबार गर्नुपर्ने शास्त्रीय वचन छ । आइतबार बिहान ११ः२७ बजेसम्म औँशी तिथि छ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्हपूजा सोही दिन गर्नुपर्ने हुन्छ ।

मङ्सिर १ गते सोमबार तिहारको मुख्य दिन भाइटीका छ । बिहान ११ः३७ बजे भाइटीकाको साइत उत्तम रहेको अध्यक्ष गौतमले बताउनुभयो । मङ्सिर १ गते सोमबार मह्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित मुहूर्तको शुभसाइत दिइएको समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत नै हुन्छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर