२५ कार्तिक, काठमाण्डौँ । सरकारले लक्षण देखिएका कोरोना संङ्क्रमितको परीक्षण र उपचार सरकारी अस्पताल र प्रयोगशालाबाट निःशुल्क गर्ने निर्णय गरेको छ ।
बैठकले विभिन्न मुलुकहरूमा विकसित भइरहेका कोरोना विरुद्धको खोप पनि छोटो प्रक्रियाबाट नेपाल भित्र्याउन स्वास्थ्य, परराष्ट्र र अर्थ मन्त्रालयका तीन सचिव सम्मिलित एक संयन्त्र गठन गर्ने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले जानकारी दिनुभयो ।
बैठकले कोरोना भाइरसको बढ्दो संक्रमण र यसले राज्यकोमा पारेको असरलाई मध्यनजर गर्दै मन्त्रिपरिषद्को सदस्यहरुले २०७७ सालको पारिश्रमिक मध्ये आधा तलब कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको मन्त्री ज्ञवालीले बताउनुभयो ।
यसैगरी नेपालको कृषि क्षेत्रलाई अत्यावश्यक पर्ने रासायनियक मल नेपालमै उत्पादन गर्न चाहिने उद्योग स्थापना गर्न अर्थ मन्त्री, उद्योग मन्त्री र परराष्ट्र मन्त्री सम्मिलित एक संयन्त्र बनाउने निर्णय भएको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।
सरकारले तत्काल मलको अभाव हुन नदिन बंगलादेशबाट ‘जीटुजी’ (सरकार–सरकार) प्रक्रियाबाट ५० हजार मेट्रिक टन मल खरिद गर्ने निर्णयसमेत गरेको छ ।
यसैबीच सरकारले पुस्तक आयातमा १० प्रतिशतका दरले लगाइएको भन्सार महसुल समेत हटाउने निर्णय गरेको छ ।
यस्तै सरकारले पुस्तकमा लगाइँदै आएको कर हटाउने निर्णय गरेको छ । पूर्वअर्थमन्त्री युवराज खतिवडाले पुस्तक आयातमा १० प्रतिशत भन्सार महसुल लगाउने निर्णय लिनुभएको थियो । तर सो निर्णयको विरोध हुँदै आएकोमा अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कर हटाउने निर्णय गरेको एक मन्त्रीले बताए ।
यसैगरी कोरोनाभाइरसविरुद्धको खोप आयातका लागि प्रक्रिया थाल्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ । त्यसका लागि अर्थ, स्वास्थ्य र परराष्ट्र सचिव सम्मिलित एक समिति गठन गरिएको ती मन्त्रीको भनाइ छ ।