२४ कार्तिक, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई गलाउने प्रयास हुन थालेको छ । उहाँलाई सत्ताबाट हटाउने सम्मको योजना बनाएर मोर्चाबन्दी सुरु भएको स्रोतको भनाई छ । त्यसमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालका अलावा उपाध्यक्ष वामदेव गौतम पनि सक्रिय रहेको बताईएको छ ।
दुई दिनभित्र सचिवालय बैठक डाक्न अध्यक्ष प्रचण्डले लिखित प्रस्ताव शनिबार नै प्रधानमन्त्री ओलीलाई दिनुभएको थियो । त्यसमा प्रचण्डसहित पाँच नेताहरुले कुनै हालतमा सम्झौता नगर्ने संकेत देखाउनुभएको छ । ओलीले पाँच नेताको मोर्चालाई कमजोर पार्ने देखि घेराबन्दी तोड्ने सम्मको प्रयास गर्दै आईरहनुभएको छ ।
ओलीले प्रचण्डलाई विश्वासपात्र पठाएर विभिन्न प्रस्ताव गर्दै आउनुभएको छ । आज मात्र महासचिव विष्णु पौडेल ओलीको सन्देश लिएर खुमलटार पुग्नुभएको स्रोतको भनाई छ । गत हप्ता पनि खुमलटारमा ओलीका विश्वासपात्रहरुको आवतजावत भएको थियो ।
पौडेल गत हप्ता वामदेव गौतमलाई भेट्न पुग्नुभएको थियो । तर, गौतमले समय नलिई नआउन भन्नुभएको स्रोतको भनाई छ ।
प्रधानमन्त्री ओलीले माधवकुमार नेपालसँग तीन हप्तामा तीनपटक भेटवार्ता गरिसक्नुभएको छ । तर, नेपाल ओलीको कुनैपनि प्रस्तावमा सकारात्मक बन्न सक्नुभएको छैन । बरु उहाँले पार्टीलाई एकतावद्ध बनाउने प्रस्ताव लिएर सचिवालयमा प्रस्तुत हुन सुझाव दिनुभएको छ ।
तर, ओली सचिवालय बैठक डाक्न तयार हुनुहुन्न । ओलीइतर समूह भने कुनै हालतमा सचिवालय बैठक डाक्न वाध्य बनाउने रणनीतिमा छन् । उनीहरु ओलीलाई गलाउँदै जाने योजना अनुसार एकढिक्का भएर सक्रिय छन् ।