२ कार्तिक, काठमाण्डौँ । बितेको २४ घण्टामा देशभर थप २९४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ पुगेको आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
यस्तै हाल देशभर संस्थागत आइसोलेशन १२ हजार ९३३ जना र होम आइसोलेशन २६ हजार ४०८ जना रहेका छन् ।
मन्त्रालयका प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर १४ हजार ८७५ जनाको भएको छ भने काठमाडौँमा १ हजार ४६९, ललितपुरमा १३० र भक्तपुरमा ९९ जना गरी उपत्यकामा कुल १ हजार ६९८ जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ३२६ जना निको भएसँगै हालसम्म कुल निको हुनेको संख्या ९२ हजार १६६ पुगेको छ । यस्तै थप१२ जनाको मृत्यु भएपछि कोरोनाबाट हालसम्म मृत्यु हुनेको कुल संख्या ७३९ पुगेको छ ।
यस्तै कोरोना भाइरसको परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने भएको छ । सरकारले आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । उनीहरुले कोरोना बिमा गरेको भए परीक्षण र उपचार खर्च बिमा रकमबाट कट्टा गरिनेछ ।
‘अन्य सबै व्यक्तिको परीक्षण तथा उपचार व्यक्तिको आफ्नै खर्चमा गर्ने गराउने निर्णय भएको छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले भन्नुभयो ।
उहाँका अनुसार यो निर्णय सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा आज कार्तिक २ गतेदेखि नै लागू हुनेछ ।