६ असोज, इलाम । फैसला कार्यन्वयन प्रक्रियालाई तीब्रता दिने अभियान अन्तर्गत अदालतबाट दोषी प्रमाणित भई फरार रहेकाहरुलाई प्रहरीले धमाधम पक्राउ गर्न सुरु गरेको छ । २०६४ मा झापा साधुहोली जंगलमा सामुहिक रुपमा जवरजस्तिकरणी गरी फरार रहेका इलाम चुलाचुली–३ का ३० वर्षीय मिलन राई भनिने अनिश राई र ३१ वर्षीय जितकुमार राई भन्ने निश्चल राईलाई प्रहरीले पक्राउ गरेको हो ।
खोजतलासको क्रममा उनीहरुलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक लालध्वज सुबेदीले जानकारी दिनुभयो । दुवैलाई ११ फाल्गुन २०६७ मा जिल्ला अदालतबाट ११ वर्ष १ महिना १५ दिन कैद र जनही २१ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।
उनीहरुलाई जिल्ला अदालतमा पेश गरेकोमा कैद भुक्तानको लागि सोमबार कारागार कार्यालय इलाममा पठाईएको प्रहरीले जनाएको छ । उक्त मुद्दामा एक जना हाल जिल्ला कारागार इलाममा कैद भुक्तान गरिरहेका छन् । एक जना अझै फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी ठगी मुद्दा, कर्तब्य ज्यान मुद्दा र हातहतियार खरखजना मुद्दा फरारहरुलाई समेत प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलाम तथा मातहत प्रहरी कार्यालयबाट खोत तलासको क्रममा ठगी मुद्धाका इलाम सुर्याेदय नगरपालिका–२ का ३२ वर्षीय सन्तोष बस्नेत, हातहतियार खरखजना मुद्दाका इलाम सुर्याेदय नगरपालिका–५ का ४४ वर्षीय मोटे देवान भन्ने हर्कबहादुर लिम्बू र कर्तव्य ज्यान मुद्धाका माईजोगमाई गाउँपालिका–२ का बिष्णुकुमार राई पक्राउ परेका छन् । बस्नेतलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना, लिम्बूलाई ३ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना र राईलाई ५ महिना ६ दिन कैद र २० रुपैयाँ जरिवाना तोकिएको थियो ।