४ असोज, झापा । प्रदेश १ का तेक्वान्दोका उत्कृष्ट खेलाडी र प्रशिक्षकहरू सम्मानित भएका छन् । झापाको दमकमा आज तेक्वान्दो एसोसियसन प्रदेश–१ को १९ औं वार्षिकोत्सवको अवसरमा खेलाडी, प्रशिक्षक र जिल्लालाई संघ सम्मान कार्यक्रम गरिएको हो ।
तेक्वान्दोको उत्कृष्ट महिला खेलाडीमा मोरङकी केरिषा आचार्य, पुरुष तर्फ वर्षको उत्कृष्ट खेलाडी झापाका रोशन मगर, वर्षको उत्कृष्ट प्रशिक्षक मोरङका चतुरलाल चौधरी र उत्कृष्ट उदीयमान प्रशिक्षकमा झापाका चन्द्रबहादुर तामाङ सम्मानित भएका छन् । यस्तै वर्षको उत्कृष्ट जिल्ला संघमा झापा जिल्ला तेक्वान्दो संघलाई सम्मान गरिएको छ ।
सम्मानित हुनेहरूलाई १ नम्बर प्रदेशको सामाजिक विकास राज्यमन्त्री जशमाया गजमेरले कदरपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । कार्यक्रममा नेकपा दमक नगर सचिव तिर्थ बस्नेत, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश–१ का अध्यक्ष अर्जुन जम्नेली राई, नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघका उपाध्यक्ष प्रविन कार्कीलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा राज्यमन्त्री जगमशेले प्रदेशमा खेलकुद ऐन बनेकोले अब खेलकुद बोर्ड गठन गर्ने तायरी भइरहेको जानकारी दिनुभयो । खेल क्षेत्र र खेलाडीलाई प्रदेश सरकारले प्रोत्साहन गर्न महत्वका साथ बजेट विनियोजन गरेको उहाँले जानकारी गराउनुभयो ।