४ असोज, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । गत भाद्र २६ गते सम्पन्न स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयनका सवालमा छलफल गर्न सचिवालय बोलाइएको बताईएको छ ।
पूर्वमाओवादी केन्द्रको कार्यालय रहेको कोटेश्वरस्थित पेरिसडाँडामा ११ बजेपछि बस्ने बैठकमा समसामयिक विषयका साथै पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याउने विषयमा छलफल हुनेछ ।
यसअघि शुक्रबारका लागि बोलाइएको बैठक नेताहरुको समयअभावका कारण आजका लागि सारिएको थियो । एक सचिवालय सदस्यका अनुसार स्थायी समिति बैठकको निर्णय अनुसार सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनगर्ठनकोे मापदण्डका बारेमा समेत छलफल हुनेछ ।
अजको बैठकमा सरकारको मन्त्रीमण्डल हेरफेरको बिषयमा पनि छलफल हुने बताईएको छ । नेकपामा दुई वर्षअघि मन्त्री भएकाहरुलाई निरन्तरता दिने या नदिने भन्ने निक्र्याेल भएको छैन । कतिपयले साढे २ वर्षअघि मन्त्री भइसकेका सबैलाई बिदा गरेर नयाँलाई मौका दिनुपर्ने बताइरहेका छन् भने कतिपयले कार्यसम्पादनमा कमजोर रहेकालाई मात्रै हटाउनुपर्ने बताउँदै आएका छन् ।
नेकपाको नौ सदस्यीय सचिवालयमा रहेका तीन जना सदस्यलाई पनि मन्त्रिमण्डलमा समावेश गर्ने या नगर्ने भन्ने प्रश्न पनि पछिल्लो समय उठ्दै आएको छ । सचिवालय सदस्यहरु नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र विष्णु पौडेललाई समेत सरकारकामा सहभागी गराएर सरकारका कामकारवाही प्रभावकारी बनाउनुपर्ने एकपक्षको भनाइ छ ।