२ असोज, झापा । अस्थायी ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाले गत आर्थिक वर्ष २०७६÷०७७ मा सवारी नियम उल्लंघन गर्ने तीन हजार बढी सवारी साधनलाई कारवाही गरेको छ ।
आफ्ना सवारी साधनका आवश्यक कागजात नबोक्ने, समयमै नवीकरण नगरेका, मादक पदार्थ सेवन गरी सवारी चलाएका, क्षमताभन्दा बढी यात्रु तथा मालवहाक, तीव्रगतिमा चलाउनेलगायतका ट्राफिक नियम पालना नगर्ने तीन हजार पाँच सय १६ वटा सवारी साधनलाई एकवर्षको अवधिमा कारवाही गरेको ट्राफिक प्रहरी नायव निरीक्षक कृष्ण प्रधानले बताउनुभयो ।
मेचीनगर नगरपालिकाक्षेत्रभित्रको यातायात व्यवस्थापनको जिम्मा पाएको अस्थायी ट्राफिक प्रहरी पोस्ट काँकरभिट्टाले ती सवारी साधनलाई कारवाही गरेपछि २२ लाख २२ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरेको ट्राफिक प्रहरी नायव निरीक्षक प्रधानले बताउनुभयो ।
पोष्टले सवैभन्दा बढी आर्थिक वर्षको दोस्रो भदौ महिनामा चार सय ६६ वटा सवारी साधनलाई कारवाही गरेर दुई लाख ९१ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । लकडाउनयता समेत प्रहरीले सवारी साधनलाई कारवाही गरेको छ । पहिलो पटक सरकारले अघिल्लो वर्षको चैत्र ११ गतेदेखि लकडाउन घोषणा गरेपनि त्यो महिना दुई सय १८ वटा सवारी नियम उल्लंघन गर्ने सवारी साधन कारवाहीमा परेका छन् ।