२८ भाद्र, काठमाण्डौँ । करिब पाँच सातापछि रिक्त हुने मुख्यसचिव पदका लागि दौडधुप सुरु भएको छ । मुख्यसचिव लोकदर्शन रेग्मीको कार्यकाल कार्तिक ६ गते मा सकिँदैछ । मुख्यसचिवका लागि ६ जना सचिवहरु आकांक्षी देखिएका छन् ।
रेग्मीले कार्यकाल पूरा हुनुभन्दा १५ दिनअघि पदबाट राजीनामा गर्नुभयो भने शंकरदास बैरागी, केदारबहादुर अधिकारी र मोहनकृष्ण सापकोटामध्ये एक मुख्यसचिव हुनुहुनेछ तर उहाँले कार्यकाल पूरा गरी अवकाश लिनुभयो भने यी तीनैजना मुख्यसचिवको दौडबाट बाहिरिने छन् ।
किनभने ती तीनले असोज २२ मा निजामती सेवाबाट अनिवार्य अवकाश पाउँदैछन् । बैरागी परराष्ट्र, अधिकारी संस्कृति पर्यटन र सापकोटा सार्वजनिक खरिद अनुगमन कार्यालयमा सचिव हुनुहुन्छ । तीनैजना २०७२ असोज २२ मा सचिवमा बढुवा भएका हुन् ।
रेग्मीले पूरा कार्यकाल काम गर्नुभयो भने चन्द्रकुमार घिमिरे, विश्वनाथ ओली र मधुसुधन अधिकारीमध्ये एकजनाले मुख्यसचिव हुने अवसर पाउनेछन् । घिमिरे उद्योग, वाणिज्य तथा आपूर्ति, ओली वन र अधिकारी सहरी विकास मन्त्रालयमा कार्यरत हुनुहुन्छ ।
घिमिरे २०७२ माघ ८, ओली २०७३ वैशाख ७ र अधिकारी २०७३ वैशाख २४ मा सचिवमा बढुवा भएका हुन् । मुुख्यसचिव बन्न नसके घिमिरेले आगामी माघ ८, ओलीले २०७८ वैशाख ७ र अधिकारीले २०७८ वैशाख २४ मा पाँच वर्षे कार्यकाल पूरा गरी अनिवार्य अवकाश पाउनेछन् ।
यी तीनजनामा जेष्ठताको हिसाबबाट घिमिरे पहिलो नम्बरमा हुनुहुन्छ तर निजामती सेवा ऐन, २०४९ मा मुख्यसचिव पदमा सरकारले बहालवाला सचिवमध्येबाट ज्येष्ठता र कार्यकुशलताका आधारमा छनोट गरी बढुवा गर्ने व्यवस्था छ ।
स्रोतका अनुसार मुख्यसचिवका आकाक्षीहरूले हाल आफ्नो पक्षमा वातावरण बनाउन र प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकटता बढाउन विभिन्न माध्यमबाट लबिङ थालेका छन् ।
अहिले एउटा पक्षले मुख्यसचिव रेग्मीलाई अन्य कुनै महत्वपूर्ण ठाउँमा राजनीतिक नियुक्ति दिलाएर पूरा कार्यकाल सकिनुभन्दा १५ दिनअघि नै पदबाट राजीनामा गराउन लबिङ गरिहेको छ भने अर्काे पक्ष उहाँले पूरै कार्यकाल बिताएर अवकाश लिनुपर्ने लबिङमा रहेको आजको नागरिक दैनिकमा खवर छ ।