२७ भाद्र, काठमाण्डौँ । विभिन्न अड्कलवाजीहरुलाई चिर्दै नेकपाले झण्डै ५ महिना लामो आन्तरिक विवाद तत्कालका लागि मत्थर पारेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको नयाँ समझदारीसँगै पार्टीभित्रका विवाद समाधान उन्मुख भएका छन् भने सिंगो पार्टीपंक्ति एकता महाधिवेशनमा केन्द्रित हुने भएको छ ।
पार्टी एकतालाई सुदृढ र बलियो बनाउने भन्दै गरिएका निर्णयको कार्यान्वयन पक्ष कति प्रभावकारी हुन्छ भन्ने विषयमै पार्टीको आन्तरिक संघर्षको अवस्था निर्भर हुनेछ ।
यद्यपि एकअर्कालाई अविश्वास र शंकाको दृष्टिले हेर्न थालिसकेका अध्यक्षद्वय ओली र प्रचण्डको यो पुनर्मिलनले नेकपा तत्कालका लागि दुर्घटनाबाट जोगिएको प्रष्ट सन्देश दिएको छ ।
नेकपाका स्थायी कमिटी सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले पनि पार्टीभित्रको आन्तरिक विवाद अब टुँग्गिएको विश्वास दिलाउनुभएको छ । साथै पार्टी महाधिवेशनको दिशातिर अघि बढेको उहाँको भनाई छ ।
आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रिमालले कार्यदलले अघि सारेको प्रतिवेदनका आधारमा नेकपाभित्र भएका समस्याहरू साम्य भएको दावि गर्नुभयो ।