कांग्रेस मनोनयन विवादः देउवाविरुद्ध ‘अल्टिमेटम’ जारी गर्ने तयारीमा पौडेल पक्ष

कांग्रेस मनोनयन विवादः देउवाविरुद्ध ‘अल्टिमेटम’ जारी गर्ने तयारीमा पौडेल पक्ष

२० भाद्र, काठमाण्डौँ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले विभागहरुमा मनोनयन जारी राखेपछि रुष्ट भएको रामचन्द्र पौडेल पक्षले आफू निकट केन्द्रीय सदस्यहरुको ‘भर्चुअल’ बैठक बोलाएको छ ।

केन्द्रीय सदस्यहरुको ‘जुम मिटिङ’बाट निर्णय फिर्ताको लागि सभापति देउवालाई दबाब दिने रणनीति बनाउने नेताहरुले बताएका छन् ।

केन्द्रीय सदस्य गुरुराज घिमिरेले आजको छलफलमा दबाबमुलक कार्यक्रम गर्नेबारे छलफल हुने बताउनुभयो । ‘विधिको उल्लंघन गरेकाले सुरुमा निर्णय सच्याउन अल्टिमेटम दिने, निर्णय नसच्चिए धर्ना र अनशन बस्नेसम्मको तयारी गरिएको छ,’ घिमिरेले भन्नुभयो ।

सभापति देउवाले बुधबार र बिहीबार थप दुई विभागमा ९६ जनालाई मनोनयन गर्नुभएको थियो । देउवाले हालसम्म २० वटा विभागमा करिब ९ सय नेता, कार्यकर्ताहरुलाई मनोनयन गरिसक्नुभएको छ । यी मनोनयन एकलौटी भएको भन्दै पौडेल पक्षले विरोध गर्दै आएको छ ।

विगतमा सुशील कोइराला पार्टी सभापति हुँदा देउवाले गलत काम भएको भन्दै धर्ना बसेको र अल्टिमेटम दिएको स्मरण गर्दै घिमिरेले भन्नुभयो, ‘शेरबहादुर दाइ हाम्रो पार्टी सभापति, संरक्षक, अभिभावक हुनुहुन्छ । हामी उहाँका अशल अनुयायी हौं, उहाँ पार्टी सभापति नहुँदा जुन बाटो खन्नु भएको थियो, हामीले अहिले शेरबहादुर दाइकै बाटोलाई अनुशरण गर्दैछौं ।’

पौडेल पक्षले विभाग गठन, क्रियाशील सदस्यता वितरण र भ्रातृसंस्थाको कार्यकाल थपका विषयमा असन्तुष्टि जनाएको छ । महाधिवेशनको आचारसंहिता र विधान विपरीत विभागहरु गठन गरिएको भन्दै खारेज गर्न पौडेल पक्षले माग गर्दै आएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर