१९ भाद्र, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिनुभएको छ ।
आज अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएपछि उहाँले सम्हाल्दै आएको मन्त्रालयको जिम्मा प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
अर्थ मन्त्रालयबाट बिदाइः
राजीनामा दिने दिन मन्त्री खतिवडा अर्थ मन्त्रालयमा आयोजित विदाइ कार्यक्रममा सहभागी हुनुभएको थियो ।
मन्त्रालयका एक सहसचिवका अनुसार मन्त्री खतिवडाले वित्तीय संघीयता कार्यान्वयनको चूनौतीपूर्ण अवस्थामा आफूले जिम्मेवारी सम्हालेको भन्दै जग बसाउन सफल भएको प्रतिक्रिया दिनुभयो ।
आफ्नो कार्यकालमा राजस्व प्रशासनमा समेत सुधार भएको खतिवडाले बताउनुभयो । खासगरी भ्याट फिर्ता खारेजीको निर्णयलाई अर्थमन्त्रीले सफल निर्णयको रुपमा लिनुभएको छ । यसअवधिमा खर्च प्रणाली र लेखा प्रणालीमा समेत उल्लेख्य सुधार भएको प्रतिक्रिया अर्थमन्त्रीले दिनुभयो ।
प्रधानमन्त्रीद्धारा प्रशंसाः
यता प्रधानमन्त्री केपी ओलीले बाहिर बसेर पनि आफूलाई सहयोग गर्न अर्थमन्त्री डा. युवराज खतिवडालाई आग्रह गर्नुभएको छ ।
खतिवडाकोे प्रशंसा गर्दे ओलीले अर्थतन्त्रको सवालमा सरकारलाई सहयोग गर्न आग्रह गर्नुभएको हो ।
अर्थमन्त्रीको रुपमा खतिवडाको कार्यकाल सफल भएको भन्दै आफू सन्तुष्ट रहेको प्रधानमन्त्री ओलीले सुनाउनुभएको थियो ।
जवाफमा खतिवडाले केही समय आराम गर्ने र त्यसपछि आवश्यकताअनुसार सहयोग गर्ने बताउनुभएको थियो ।