१४ भाद्र, काठमाण्डौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई निर्वाचन आयोगमा पार्टी दर्ताका लागि पार्टीभित्र अन्तिम गृहकार्य चहिरहेको छ ।
गत २८ फाल्गुनमा कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर राणा तथा डा. प्रकाश चन्द्र लोहनी नेतृत्वको राप्रपा (संयुक्त)बीच पार्टी एकता भएपछि एकताको आधार पत्रमाथिको व्याख्या र विवादित विषयमा सहमतिको खोजी जारी छ ।
राप्रपाद्वारा एकताको आधारपत्रलाई व्याख्या र विवादित विषय टुंग्याउन ६ सदस्सीय कार्यदल समेत बनाइएको थियो । कार्यदलमा थापा समूहका दीपक बोहोरा, बुद्धिमान तामाङ्ग र राजेन्द्र लिङ्देन रहनुभएको छ भने राणा–लोहनी समूहबाट विक्रम पाण्डे, धुव्रबहादुर प्रधान र श्यामप्रसाद तिमिल्सिना हुनुहुन्छ ।
कार्यदलले चुनाव चिन्ह बाहेकका विषयमा मोटामोटी खाका तयार पारेर निर्णय गर्ने अधिकार तीन अध्यक्ष (थापा–राणा–लोहनी) लाई नै दिइएको छ ।
कार्यदलले तयार पारेको प्रतिवेदन र चुनाव चिन्हका विषयमा अध्यक्षत्रय थापा, राणा र लोहनीबीच शुक्रबार राणाको निवासमा छलफल भएको थियो । छलफलमा पार्टी एकता हुँदादेखि विवाद देखिएको निर्वाचन चिन्हका विषयमा सहमति हुन सकेन । कमल थापा जसरी पनि गाईलाई नै चुनाव चिन्ह बनाउनु पर्ने अडानमा हुनुहुन्छ भने राण र लोहनी हलोको पक्षमा हुनुहुन्छ ।
पार्टी एकता हुँदा थापा नेतृत्वको राप्रपाको चिन्ह ‘गाई’ र राणा–लोहनी नेतृत्वको राप्रपा संयुक्तको चुनाव चिन्ह ‘हलो’ कायम थियो । अहिले राप्रपामा पार्टी एकता हुँदा थाती राखिएको चुनाव चिन्ह विवाद फेरि बल्झिएको हो ।
राप्रपाका दुई समूहवीच एकीकरण भइसकेपनि चुनावचिन्ह टुंगो नलग्दा निर्वाचन आयोगमा एकीकरणपछिको दल दर्ता प्रक्रिया टुंगोमा पुग्न सकेको छैन । जबकी यही भाद्र मसान्तसम्म राप्रपाले निर्वाचन आयोगमा आवश्यक कागजात बुझाइसक्नु पर्नेछ ।