१३ भाद्र, काठमाण्डौँ । पार्टीको आसन्न महाधिवेशन नजिकिँदा सभापति शेबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको तीव्र ध्रुवीकरणलाई तेस्रो धारको नेतृत्वमा आसीन सिटौलाले नियालिरहेको पाइन्छ ।
१४औँ महाधिवेशनपछि पनि आफ्नै नेतृत्वलाई निरन्तरता दिने दाउमा सभापति देउवा हुनुहुन्छ ।
तर संस्थापन पक्षबाटै देउवाई चुनौती दिन उपसभापति विमलेन्द्र निधि पनि अघि सरेको अवस्था छ ।
यता इतरपक्षमा पनि नेतृत्व हत्याउने चर्काे होडबाजी छ । वरिष्ठ नेता रामचन्द्र पौडेलसहित महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता शेखर कोइरालाको आकाङ्क्षा पनि सतहमा नै आएको छ ।
यता १३औँ महाधिवेशनमा देउवा र पौडेलको विकल्पमा खडा भएका सिटौला समूह पार्टीमा बदलिन सक्ने सम्भावित समीकरणलाई नियालिरहेको छ । त्यसमा पनि उपसभापति निधिको आगामी कदम र रणनीतिमा सिटौला समूहको विशेष चासो देखिन्छ । किनभने उपसभापति निधिले सभापतिमा उम्मेदवारी दिने तयारी गरेपछि काँग्रेसभित्रको गुटगत समीकरण फेरिने निश्चित छ ।
यता देउवाका लामो समयका सारथि निधि आमुन्ने सामुन्ने हुने अवस्था खडा भए काँग्रेस संस्थापन समूह औपचारिक रूपमा विभाजित हुने छ ।
यता संस्थापन इतरबाट ८ जना नेताले सभापतिमा दावी गरेका बेला निधिको उम्मेदवारीले काँग्रेसभित्रको बहस नयाँ दिशामा मोडिएको छ । त्यो दिशामा निधिका सारथि सिटौला बन्न सक्ने सम्भावना पनि बलियो छ ।
त्यसको आधार सिटौला र निधिबीचको एजेन्डागत एकता हो । काँग्रेसमा वर्तमान राज्य व्यवस्थाप्रति निधि र सिटौला एउटै ठाउँमा उभिने गदर्छन् ।
निधिले उम्मेदवारीमा दाबी प्रस्तुत गरेपछि सिटौला समूहका नेताहरुले उहाँको निवास बानेश्वरमा पुगेर छलफलसमेत गरेका थिए ।
दुई सातादेखि गृहजिल्ला झापामा रहनुभएका सिटौलासँगको सल्लाहमा नेताहरुले निधिसँग भेटवार्ता गरेका थिए ।
निधिको भेटपछि सिटौला निकट एक नेताले भने, ‘निधि दाइले शेरबहादुर देउवाको लिगेसी ल्याउन सकेको खण्ड वा पावर सेन्टर बन्ने सकेको खण्डमा सिटौला दाइ उहाँसँग जोडिन सक्ने अवस्था बलियो छ ।’
यसबारे थप प्रस्ट्याउँदै उनले थपे, ‘जस्तै दुईवटा कोइरालामध्ये एउटा र प्रकाशमान सिंह निधिसँग जोडिएको अवस्थामा सिटौला दाइ त्यहाँ जोडिन सक्नु हुन्छ । सिटौला दाइ शेरबहादुर देउवा र रामचन्द्र पौडेलसँग जाने कुरामा इच्छुक हुनुहुन्न । उहाँहरुबाहेक जोसँग पनि सिटौला दाइ पावरसेयरिङ गर्न तयार हुनुहुन्छ ।’
सबैलाई मिलाएर पार्टीभित्रको वर्तमान समीकरणमा उथलपुथल ल्याउन निधिका लागि सबैभन्दा बढी अनकुल परिस्थिति रहेको ति नेताको भनाइ छ ।
‘उहाँले काँग्रेसभित्रको ३० प्रतिशत शक्ति जोड्न सकेको अवस्थामा सिटौला दाइ, शेखर र प्रकाशमान पनि जोडिन सक्नुहुन्छ । त्यस्तो अवस्थामा शेरबहादुर दाइको समर्थनमा शशांक दाइ लड्नुभयो भने बाँकी सबैको समर्थनमा निधि दाइ पनि लड्न सक्नुहुन्छ ।’
निधिलाई रामचन्द्र पौडेलले पनि साथ दिनसक्ने उनको अनुमान छ । ‘रामचन्द्र दाइको देउवासँग भएको जस्तो निधि दाइसँग इगो छैन । निधि दाइ काँग्रेसमा पहिलेदेखि निरन्तता भएको मान्छे हुनुहुन्छ । महेन्द्रनारायण निधिको छोरो हो,’ उनले भने, ‘पार्टीभित्र कहिल्यै ग्याप हुनुहुन्न । मधेसी भनेर पनि नेता भएको होइन । आफ्नै मिहिनेत र निरन्तरताले नेता हुनुभएको हो ।’
अहिलेको अवस्था पार्टीको पक्षमा सोचेर हेर्दा सबैभन्दा राम्रो उम्मेदवार निधि भएको सिटौला पक्षको बुझाइ छ ।