११ भाद्र, काठमाण्डौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणबारे बुधवार मन्त्रालयका उच्चअधिकारीसहित स्वास्थ्य क्षेत्रका विज्ञसँग भर्चुअल छलफल गरी सामूहिक प्रयासका लागि आव्हान गर्नुभएको छ ।
मन्त्री ढकालले सबैको प्रयासले नै कोरोना महामारीको नियन्त्रणमा सफलता मिल्ने भन्दै निरन्तर सुझावको अपेक्षा राख्दै नियन्त्रणमा देखापरेका चुनौतीको सामना सामूहिक प्रयासबाट गर्नुपर्ने बताउनुभयो । कोरोनाविरूद्ध पहिलो भागमा राखेर खटिरहेका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाइ धन्यवाद दिँदै सबैले उहाँहरूको हौसला बढाउनुपर्ने मन्त्री ढकालले बताउनुभयो ।
छलफलमा डा. महेश मास्केले सूचना व्यवस्थापन राम्रोसँग गर्नुपर्ने बताउनुभयो । उहाँले कोरोना संक्रमण नियन्त्रणभन्दा बाहिर नगएको भन्दै संक्रमितको संख्या धेरै देखिएपनि संक्रमणको दर घट्दोक्रममा रहेको बताउनुभयो ।
विज्ञ प्रा. डा. जीवन शेरचनले कतिपय नागरिक मास्क किन्न सक्ने हैसियतमा समेत नरहेको भन्दै उनीहरू पनि घरबाहिर निस्कनुपर्ने र काममा जानुपर्ने अवस्था रहेको भन्दै मास्क सरकारले निःशुल्क वितरणको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।
छलफलमा मन्त्रालयका सचिव लक्ष्मण अर्याल, मन्त्रीका सल्लाहकार डा. खेमबहादुर कार्की, सहसचिव डा. गुणराज लोहनी, प्रवक्ता प्रा डा. जागेश्वर गौतम, डा. गुणनीधि शर्मा लगायत सहभागी हुनुहुन्थ्यो ।