१० भाद्र, झापा । झापाको झापा गाउँपालिकामा आज साँझ प्रहरीले चलाएको गोली लागेर स्थानीय रसिक आलमको उपचारका क्रममा मृत्यु भएको छ ।
पेटमा गोली लागेर गम्भिर घाईते भएका आलमको उपचारका क्रममा बिर्तामोडको बीएण्डसी अस्पतालमा मृत्यु भएको हो ।
स्थानीयले गोरु काटेको विषयमा विवाद भएपछि झापा गाँउपालिका–३ कामाटोली पुगेको सशस्त्र प्रहरीले गोली चलाउँदा आलम घाइते भएका थिए ।
गोरु काटेको निहुँमा प्रहरीले दिउँसो दुई जनालाई पक्राउ गरेको थियो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय लैजान खोजिएपछि स्थानीयबासी आक्रमणमा उत्रिएको झापा गाउँपालिकाका प्रमुख जय नारायण साहले बताउनुभयो ।
कामाटोली बजारमा गोरु काट्दै गरेको अवस्थामा दुई जना पक्राउ परेका थिए । पक्राउ पर्नेहरुमा झापा गाउँपालिका–३ का अब्दुल सलाम र ताजमल हक रहेका छन् ।
दिउँसो ताजमल हकको घरमा गोरु काट्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय कुमरखोद र सशस्त्र प्रहरी बेस क्याम्प टाघनडुब्बाबाट गएको संयुक्त टोलीले मासुसहित ती दुवैलाई पक्राउ गरेको थियो ।
गोरु काट्नेहरुलाई लैजान खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताउनुभयो ।