९ भाद्र, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्यदलले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको छ ।
महासचिव विष्णु पौडेलको नेतृत्वमा गठन भएको कार्यदलले पार्टीभित्रका आन्तरिक विवाद समाधान गर्नको लागि महत्वपूर्ण सुझाव समेटेर अध्यक्षद्धयलाई गत शनिबार प्रतिवेदन बुझाईसकेको छ ।
प्रतिवेदनले अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई थप शक्तिशाली बनाएको र एक व्यक्ति, एक पदको मागको बारेमा केही नबोलेको भन्दै वरिष्ठ नेता माधव कुमार नेपालले भने विरोध गर्नुभएको छ । उहाँले आफूनिकट नेताहरुसँग प्रतिवेदन स्विकार्य नहुने भन्दै सचिवालयमा खरो रुपमा प्रस्तुत हुनेबारे जानकारी गराईसक्नुभएको स्रोतले बताएको छ ।
कार्यदलमा नेता नेपालको कोटाबाट सहभागी सदस्यहरु भीम बहादुर रावल र सुरेन्द्र पाण्डेको भूमिकालाई लिएरपनि नेता नेपाल असन्तुष्ट हुनुहुन्छ ।
आफ्नै खेमाका नेताहरुले मन्त्री बन्ने लोभमा विधि र प्रक्रियाको कुरा जोडदारसँग उठाउन नसकेको नेता नेपालको भनाई छ । पछिल्लो समय कार्यदलमा रहेका अधिकांश सदस्यहरु मन्त्रिमण्डल पूनर्गठन हुँदा मन्त्री बन्ने चर्चा छ ।
नेता नेपालले एक व्यक्ति, एक मुख्य पदको एजेण्डा लागु गर्नुपर्ने, विधि र पद्धतीअनुसार पार्टीलाई चलाउने कुरामा कुनै सम्झौता नहुने भन्दै स्पष्ट रुपमा प्रस्तुत भईरहनुभएको छ । आगामी सचिवालय बैठकमा कडा रुपमा प्रस्तुत हुने उहाँको रणनीति रहेको स्रोत बताउँछ ।
अध्यक्षद्धय ओली र दाहालबीच आज भएको भेटवार्तामा सचिवालय बैठक शनिबार बोलाउने सहमति भएको छ ।