४ भाद्र, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको राजनीतिमा कमजोर हुँदै गएको होकी भन्दै उहाँकै निकटस्थहरु छक्क पर्न थालेका छन् ।
जस्तोसुकै चुनौतीको सामना गर्न तयार रहने र कुनै न कुनै राजनीतिक अस्त्र फालेर हलचल ल्याउने प्रचण्ड अहिले पुरै शिथिल जस्तो हुनुहुन्छ ।
तत्कालको समयमा प्रचण्डसंग कुनै बलियो राजनीतिक एजेन्डा देखिदैन । बलियो राजनीतिक अस्त्र पनि देखिदैन । त्यसैले उहाँका अडान फितलो सावित हुनथालेको छ ।
यसमा उहाँको कुनै वाध्यता हो या रणनीतिक चार्तुयता ? ढाँडमा टेकेर दुश्मनको टाउकोमा हान्ने रणनीतिकार प्रचण्डले पछिल्लो समय न त कसैको ढाडमा टेक्न सक्नुभएको छ न त विरोधीलाई गलाउन या थकाउन नै सक्नुभएको छ । बरु उहाँ आफै निरन्तर गल्ने र थाक्ने क्रम चलि नै रहेको छ ।
पार्टी एकतामा जे सहमती भएको त्यो नै कार्यन्वयन भएको छैन । एकताको डोरी प्रचण्डको हिम्मत र शक्तिलाई बाँध्ने औजार बनेको छ । उहाँ कतिपय अवस्थामा चलमल गर्न नसक्ने भइसक्नुभएको छ । उहाँका कतिपय प्रयासहरु विफल भएका छन् ।
प्रचण्डले नेकपा अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको दुईपटक राजीनामा माग्नुभयो । दुई महिनाको अन्तरमा दुईपटक राजीनामा मागेपनि ओलीलाई गलाउन सक्नुभएन । बरु उल्टै आफै गलेको जस्तो देखिन्छ ।
यसअघि आधा आधा प्रधानमन्त्री बन्ने सहमति बताउनुहुने प्रचण्डले त्यही सौदावाजीमा पछि हट्नुभयो । स्वयमले त्यो च्याप्टर बन्द भएको घोषणा गर्नुभयो । दुई पटक प्रधामन्त्री बन्नुभएका प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बन्न अझै साँढे दुई वर्ष कुर्नुपर्ने वाध्यात्मक अवस्थामा पुग्नुभएको छ । कुनै आश्चर्यजनक घटना घटेमा बाहेक प्रचण्डका लागि सत्ता अब टाढिदै गइरहेको देखिन्छ ।
प्रचण्डले अब ओली पुरै कार्यकाल प्रधानमन्त्री रहने आशयमा अभिव्यक्ति दिइसक्नुभएको छ । यसलाई कतिपय राजनीतिमा धैर्यता कारण मानेका छन् । वाध्यतालाई धैर्यताको नाम दिएर कमजोरी लुकाउने राजनीतिक परिपाठी नभएको होइन । प्रचण्ड यही वाध्यताको बन्दी बन्दै जानुभएको विश्लेषकहरुको भनाई छ ।
प्रचण्डले अब एकता महाधिवेशनतर्फ ध्यान केन्द्रित गर्नुपर्ने विषय उठान गर्नुभएको छ । उहाँले महाधिवेशनको विषय उठाएपनि संगठित कार्यकर्ताको बल भएको पूर्व एमाले नेताहरुबाट नेकपाको बागडोर प्राप्त गर्ने सम्भावना कमजोर छ ।
त्यसमाथि ओलीले जनताको बहुदलीय जनवाद मान्न प्रस्ताव गरेको विषय बाहिर आइसकेको छ । प्रचण्डपथ अगाडि सारेर देशलाई नै नयाँ युगमा लाने परिस्थित बनाउनुभएका प्रचण्डले अब मदन भण्डारीले प्रतिपादन गरेको जबजमा आफूलाई समर्पित गर्लान् भन्नेमा कमैलाई विश्वास छ ।
महाधिवेशनमा चुनाव प्रक्रियाबाट अगाडि बढेमा प्रचण्ड अध्यक्ष बन्ने सम्भावना कमजोर हुन्छ । नेकपाभित्र संगठित सदस्य महत्वपूर्ण हुन्छन् । एक सय संगठित सदस्य बराबर एकजना महाधिवेशन प्रतिनिधि चयन हुन्छन् । केन्द्रीय कमिटी सदस्य देखि अध्यक्षलगायत पदमा समेत सिधै मतदान गर्न पाउने प्रतिनिधि चयनमा पूर्व माओवादीको संख्या कमजोर हुनसक्छ ।
नेकपाभित्र यथास्थितिमा मतदान प्रक्रियाबाट प्रचण्डले अध्यक्ष बन्न सक्ने सम्भावना निकै कमजोर छ । त्यसैले महाधिवेशनले उहाँलाई अझै कमजोर बनाइदिने सम्भावना बन्न सक्छ ।
नेपालको राजनीतिमा १५ वर्षयता केन्द्रबिन्दुमा रहनुभएका प्रचण्डको यो अवस्था उहाँको वाध्यता हो या रणनीतिक चार्तुयतासहितको ‘गुरिल्ला युद्ध’को तौरतरिका हो हेर्न बाँकी नै छ ।